फिरोज सिद्दिकी
लहान । सिरहाको लहान नगरपालिकामा ढल निकास व्यवस्थापनको योजना अघि बढेसँगै नहरको अस्तित्वमा संकट उत्पन्न भएको छ। नगरपालिकाले नहरलाई पुरेर ढल निकासका योजना अघि सारेपछि पुराना नहरको अस्थितत्व संकटमा परेको हो ।
नगरपालिकाले नहरलाई पुरेर ढल निकासका लागि ठूलो साइजको ह्युम पाइप लाइन वा कंक्रिटको नाला बनाउने तयारी गरेको बुझिएको छ, जसले ढललाई बलान नदीमा झार्ने योजना रहेको छ। साथै, सोही संरचना पुरेर बाटो पनि फराकिलो बनाइने कुरा नगरपालिकाले अघि सारेको स्रोत दावी रहेको छ।
स्थानीय बासिन्दा र किसानहरू यस योजनासँग असहमत रहेका छन्। उनीहरूको भनाइमा, लहानको कोर क्षेत्रका व्यापारी र बासिन्दाहरूलाई नहरको आवश्यकता छैन, तर ग्रामीण क्षेत्रमा रहेका किसानहरूले यस नहरबाट सिंचाइ गर्दै आएका छन्। नहरको पानी दुई वर्षदेखि सुचारु गर्न सक्ने संरचना तयार भए पनि नगरपालिकाको उदासीनता र नेतृत्वको कमजोरीले पानी पठाउने व्यवस्था हुन नसकेको उनीहरूको आरोप छ।
किसान र स्थानीय बुद्धिजीवीहरू भन्छन् कि नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्नु राम्रो हो, तर यसका लागि नहरलाई मास्नु उचित हुने छैन। उनीहरूको भनाइमा, नहर पनि जोगाइनु पर्छ र ढल निकासको दिगो समाधान पनि खोजिनु पर्छ। यसबारे नगरपालिकाले मुख्य सरोकारवालासँग छलफल नगरेको र किसानहरूको कुरा बेवास्ता गरेको उनीहरूको आरोप छ।
यस योजनासँग सम्बन्धित टेन्डर प्रक्रिया सम्पन्न भइसकेको र ठेकेदार कम्पनीले निर्माण सामग्री पनि ल्याइसकेको चर्चा छ। तर, योजनाबारे विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएपछि पनि किसानहरूसँग कुनै छलफल नगरिएको गुनासो किसनहरुको हरेको छ।
किसानहरू भन्छन् कि ढल व्यवस्थापनको उचित र दिगो समाधान खोज्नुपर्छ, तर यो नहरको अस्तित्वलाई मेटेर होइन। यो विवादले स्थानीय तह र किसानहरूबीचको दूरी बढाइरहेको छ, भने नहरको भविष्य अझै अन्योलमा रहेको देखिन्छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A