फिरोज सिद्दिकी
लहान । नेपाल बिजुली पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक-नेपाल) ले लहान नगरपालिकालाई ज्ञापन-पत्र बुझाउँदै नदिजन्य बालुवा, गिट्टी, ढुंगा लगायतका सामग्री उठाउन लगाइएको रोकलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ।
संगठनले प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले अस्थिर रूपमा नदिजन्य पदार्थ उठाउन रोकेको भन्दै दशैं, तिहार, छठ जस्ता महत्वपूणर् चाडपर्वको मुखमा मजदुरहरूको जीवन संकटमा परेको उल्लेख छ।
संगठनका अध्यक्ष भगवती प्रसाद चौधरीले हस्ताक्षर गरेको ज्ञापन-पत्रमा ठेक्का प्रक्रियामा नगरपालिकाको असक्षमताको आलोचना गर्दै मजदुरहरूलाई पीडित नबनाउन चेतावनी दिइएको छ। साथै, मजदुरले बिना रोकावट बालुवा, गिट्टी संकलन गर्न पाउनु पर्ने अथवा नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।
संगठनले अगाडि भनेको छ, “नगरपालिका समयमै ठेक्का लगाउन असफल भएकाले नगरले आफ्नो अकर्मण्यताको परिणाम मजदुरहरूलाई किन भोगाउनु पर्छ?“
मजदुरहरूले माग पूरा नभएमा आन्दोलन गर्ने चेतावनी दिँदै, यसबाट उत्पन्न हुने अवस्थाको सम्पूणर् जवाफदेहिता नगरपालिकाले लिनुपर्ने चेतावनी पनि ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापन-पत्रमा सात बुँदे माग राखिएको छ, जसमा श्रमिकहरूको परिचयपत्र वितरण, श्रम बैंकको स्थापना, र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न माग गरिएको छ।
साथै, संविधानले प्रत्याभूत गरेको रोजगारको हकलाई सुनिश्चित गर्न श्रम बैंकको स्थापना र सबै स्थानीय उत्पादन, जस्तै बालुवा र गिट्टी, सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने माग पनि राखिएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A