फिरोज सिद्दिकी
लहान । लहान नगरपालिका र खुट्टि नहर संघर्ष समितिबीच मिति २०८१ असोज ११ गते भएको वार्तामा भएको सहमति लहानका किसानहरूको हित विपरीत रहेको भन्दै अखिल नेपाल किसान महासंघ, लहान नगर समितिले कडा आपत्ति जनाएको छ।
अखिल नेपाल किसान महासंघ, लहानले एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समिति र नगरपालिकाबीच भएको समझौता किसानहरूको हितविपरीत भएको दाबी गरेको हो।
लहान नगरपालिका र संघर्ष समितिबीच भएको वार्तामा किसानहरूको मुख्य माग खुट्टि नहरलाई डम्पिङ साइडमा परिणत गर्ने ठेक्काको रद्द गर्ने विषय नै छलफलमा नल्याइएको आरोप लगाएको छ। लहान नगरपालिकाले खुट्टि नहरलाई डम्पिङ साइटमा परिणत गर्ने ठेक्का रद्द गर्ने मागलाई बेवास्ता गरेको आरोप लगाएको छ।
महासंघले यो सहमति किसानहरूको विरुद्धमा प्रयोग भएको दाबी गर्दै संघर्ष समिति र नगरपालिकाको मिलेमतो रहेको आशंका पनि व्यक्त गरेको छ।
महासंघका अनुसार संघर्ष समितिले किसानहरूको स्वार्थमा काम नगरी, केवल आफ्नै स्वार्थपूर्ति गर्न सहमति गरेको र आन्दोलनलाई किसानहरूको विरुद्धमा प्रयोग गरेको आरोप छ। विज्ञप्तिमा जल उपभोक्ता समितिको गठनमा नगरपालिका र संघर्ष समितिको मिलेमतो रहेको गन्ध आउने पनि उल्लेख गरिएको छ।
अखिल नेपाल किसान महासंघ, लहानले लहान नगरपालिकाका प्रमुखलाई पाँच बुँदे मागहरू सम्वोधन गर्न पाँच दिनको अल्टिमेटम दिएको छ। महासंघले चेतावनी दिँदै भनेको छ, “मागहरू सम्वोधन नभए सशक्त किसान आन्दोलन हुने र त्यसको सम्पूणर् जिम्मेवारी नगर प्रमुखको हुनेछ।”
विज्ञप्तिमा जल उपभोक्ता समिति गठन गर्दा लहानका २, ३, ११, १२, १९, २०, २१, २२, र २३ नम्बर वडाका आम उपभोक्ता किसानहरुलाई उचित जानकारी नदिई सानो बैठकमार्फत समिति बनाउदा उक्त समिति मान्य नहुने घोषणा गरिएको छ। अखिल नेपाल किसान महासंघले पाँच दिनभित्र आफ्ना मागहरू सार्वजनिक रूपमा सम्बोधन नगरे आन्दोलनको तयारी गर्ने चेतावनी दिएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A