सम्पादकिय
फिरोज सिद्दिकी
हालै लहान बजारमा बजार अनुगमनले गति लिएको देखिएको छ। यसले उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न वस्तुहरू—खाना, मिठाई, तरकारी, पेय पदार्थ आदिको गुणस्तर जाँच गर्न महत्त्वपूणर् भूमिका खेल्दछ। बजार अनुगमन गर्नु भनेको केवल कानुनी बाध्यता मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षा गर्ने एउटा नैतिक जिम्मेवारी पनि हो। विशेषगरी खानेकुराको गुणस्तर र सुरक्षासँग सम्बन्धित प्रश्नहरूमा, यो अझै सान्दर्भिक र जरुरी बन्न जान्छ।
तर प्रश्न उठेको छ, बजार अनुगमन केवल दसैंको समयमा मात्र किन हुन्छ? यो कार्य केवल चाडपर्वको बेला सीमित हुनु उपभोक्ताको लागि पर्याप्त सुरक्षा प्रदान गर्दैन। अनुगमन वर्षैभरि निरन्तर रूपमा हुनुपर्छ, किनकि उपभोक्ताले स्वस्थ र गुणस्तरीय वस्तुहरू प्राप्त गर्नु कुनै विशेष समयको माग मात्र होइन, सधैंको आवश्यकता हो। चाडपर्वको समयमा हुने अनुगमनलाई देखाएर राज्यले आफ्नो जिम्मेवारी पूरा गरेको देखाउन सक्दैन।
अनुगमन केवल ढोल बजाएर वा प्रचारबाजी गरेर गरिने कार्य होइन। यो नियमित, छड्के शैलीमा, प्रभावकारी र उद्देश्यपूणर् रूपमा गरिनुपर्छ। बजारमा रहेका व्यवसायीहरूले यस्ता छड्के अनुगमनबाट मात्र आफ्नो उत्पादनमा सुधार ल्याउन सक्नेछन्। जसरी बजारमा अनुगमनकारी निकायले सहज रुपमा अनुगमन गर्न सक्छ, त्यसरी नै गरिनुपर्छ। तर यहाँ अर्को चुनौती पनि छ—अनुगमनको पनि अनुगमन हुनु आवश्यक छ। अनुगमनकर्ता निकाय आफैंले पूणर् पारदर्शिता र जवाफदेहिता अपनाउनुपर्ने हुन्छ, ताकि कुनै पनि भ्रष्टाचार वा अनियमितता नहोस्।
यसमा पनि सरकारको मुख्य भूमिका भनेको अनुगमन गर्ने निकायलाई आवश्यक स्रोतसाधन र कानुनी अधिकार दिनु हो। हालको अनुगमन प्रणालीले वर्षभरि निरन्तर बजारमा हुने विकृतिलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा, यसलाई व्यवस्थित र सशक्त बनाउन सरकारको ठोस नीति र योजना आवश्यक छ।
यसैले, बजार अनुगमनको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्न, छड्के अनुगमनलाई नियमित गरिनुपर्छ र चाडपर्वमा मात्र सीमित नराखी सबै समय उपभोक्ताको स्वास्थ्य सुरक्षा प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A