फिरोज सिद्दिकी
लहान । चाडपर्व नजिकिएसँगै बजार अनुगमनको औपचारिकता मात्र पूरा गर्न गरिएको कार्यले उपभोक्ता र व्यापारीहरू दुवै प्रभावित भएका छन्।
सिरहाको लहानमा भैरहेको बजार अनुगमनलाई स्थानीयहरूले “भत्ता पचाउन मात्र गरिएको“ भन्दै आलोचना गरेका हुन्।
अनुगमनकर्ताहरू र व्यवसायीहरूबीचको मिलोमतोले अनुगमनको विश्वसनीयतामाथि गम्भीर प्रश्न पनि उठाएको छ।
चाडपर्व लक्षित अनुगमनमा ट्राफिक प्रहरीहरूले गर्ने सामान्य चेकजाँचजस्तै, बजार अनुगमनको नाममा उपस्थिति देखाइए पनि कुनै ठोस नतिजा आउने संकेत देखिएको छैन। बजारमा अत्यधिक मूल्यवृद्धि, गुणस्तरहीन सामानको विक्री र म्याद नाघेका वस्तुहरूको बिक्री जस्ता समस्याहरू विद्यमान छन्, तर अनुगमनकर्ताहरूको ध्यान केही व्यवसायीहरूलाई लाभ दिलाउनतर्फ रहेको जनगुनासो रहेको छ।
यसबाहेक, चाडपर्वको बेला भारतीय बजारमा किनमेल गर्ने नेपालीहरूको संख्या बढेको छ, जसले गर्दा नेपालतर्फका बजारहरू सुनसान रहेका छन्। नेपाली व्यापारीहरूले सरकारले तोकेको कर र विभिन्न अनुगमनमा परेको खर्चको भार तिरे पनि व्यापार घाटा व्यहोरिरहेका छन्।
“हामीले नेपालमा कर तिरेर व्यवसाय गरिरहेका छौं, तर ग्राहकहरू भारततर्फ किनमेल गर्न गइरहेका छन्। हामीले घाटा मात्रै सहनुपरेको छ,“ लहानका किराना व्यापारी भुनेश्वर साहले बताए।
भारतीय बजारसँगको मूल्य प्रतिस्पर्धामा नेपाली व्यापारीहरू पराजित भइरहेको बेला, अनुगमन टोलीको ध्यान यसतर्फ पुगेको छैन। उनीहरू उपभोक्ताको सुरक्षा र व्यवसाय सुधारभन्दा आफ्नो स्वार्थपूर्तिमा व्यस्त देखिएको स्थानीय समाजसेवी ओमप्रकश साहले बताए।
यस्तो परिस्थितिमा नेपाली बजारलाई सुदृढ गर्न र उपभोक्तालाई स्वदेशी सामानमा आकर्षित गर्न ठोस नीतिगत हस्तक्षेपको खाँचो देखिन्छ। स्थानीय व्यापारीहरू भन्छन्, “यदि सरकारले समयमै ध्यान दिएन भने नेपाली बजार थप समस्यामा पर्नेछ।“
स्थानीय सरकार लगायतकाले अनुगमनको नाममा भत्ता पचाउने भन्दा पनि नेपाली व्यापारीको हित र उपभोक्ताको विश्वास सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ रहेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A