सिरहा । सिरहा जिल्लाको मिर्चैया बजारबाट १० किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रको फेदमा अवस्थित खोरिया बस्ती दलित, जनजाति, र सीमान्तकृत समुदायका २६ परिवारको बसोबास रहेको स्थान हो। यहाँका बासिन्दा साना झुपडी, बाँसका भाटाले बेरेका फुसका टहरामा जीवन यापन गर्छन्। मिर्चैया नगरपालिका–७ मा पर्ने यो गाउँमा अधिकांश किसानका लागि कोदोखेती नै मुख्य र निर्विकल्प स्रोत हो।
स्थानीय किसान हर्कबहादुर परियारका अनुसार, सिँचाइको सुविधा नहुँदा र क्षेत्र सुक्खा भएका कारण यहाँ कोदोखेती गर्नुपर्ने बाध्यता छ। “बाउबाजेदेखि कोदो रोप्दै आएका छौँ। पिउने पानीसमेत छ महिनासम्म अभाव हुने ठाउँमा कोदो बाहेक अरू केही उब्जाउन सकिँदैन,” उनले बताए। परियारले दुई कठ्ठा जग्गामा कोदो खेती गरेका छन्, जसबाट करिब १०–१२ पाथी कोदो उत्पादन हुन्छ। तर, यो उत्पादनले परिवारको आवश्यकतालाई केही महिना मात्र धान्छ। बाँकी समय उनी मजदुरी गरेर छ जनाको परिवार चलाउँछन्।
धनसरी विश्वकर्मा पनि यही समस्या बताउँछिन्। खडेरी र सिँचाइ अभावले मकैजस्ता अन्य बाली उब्जाउन नसकिने हुँदा कोदोखेती नै उनीहरूको विकल्प बनेको छ। “छ महिनासम्म पिउने पानीको अभाव हुन्छ। कुवा र इनार मङ्सिर लाग्दै सुक्छन्। कोदोबाहेक गहत, बोडी र तिलजस्ता अन्न मात्र उत्पादन गर्न सकिन्छ,” उनले भनिन्।
कोदोखेती मुख्य बाली भए पनि किसानहरू सरकारी सहयोग नपाएको गुनासो गर्छन्। मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले कोदोखेतीको प्रोत्साहनका लागि कुनै योजना नभएको स्वीकार्दै आगामी दिनमा नीति निर्माण र व्यावसायीकरणका लागि पहल गर्ने बताएका छन्।
कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार, जिल्लामा ६४५ हेक्टर जग्गामा कोदोखेती हुन्छ, जसबाट वार्षिक ९६७ मेट्रिक टन उत्पादन हुन्छ। तर, स्थानीय तहलाई कृषिसम्बन्धी जिम्मेवारी दिइएकोले ज्ञान केन्द्रले प्रत्यक्ष योजना बनाउन सक्दैन। उनले परम्परागत बालीनाली जोगाउन स्थानीय तहसँग सहकार्य गरेर कोदोखेतीलाई संरक्षण गर्नुपर्नेमा जोड दिए।
खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले कोदोखेतीको कमीले स्वास्थ्यमा असर परिरहेको उल्लेख गरे। “पहिले मुख्य खाना कोदाको रोटी र ढिँडो थियो। अहिले भातको चलनले विभिन्न रोग निम्त्याएको छ। बजारका खानेकुराले मानिसलाई रोगी बनाउँदै छ,” उनले भने।
स्थानीय तह र संघीय सरकारबीच समन्वयको कमी र किसानप्रति उदासीनताका कारण यहाँका परम्परागत बालीहरू संरक्षणको अभावमा संकटमा परेको छ। कोदोखेतीजस्ता बालीनालीलाई प्रोत्साहन गर्न आवश्यक नीति निर्माण र कार्यान्वयनमा ध्यान दिन किसानहरूले सरकारलाई आग्रह गरेका छन्। रासस
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A