फिरोज सिद्दिकी
लहान । सिरहाको लहान नगरपालिकाका राहत शिक्षक जीवछ यादवलाई एक वर्षको अवधिमा चार पटक सरुवा गरिएको घटनाले विवादको रुप लिएको छ। शिक्षक यादवले यसलाई आफूप्रति अन्यायपूर्ण व्यवहारको संज्ञा दिँदै न्यायका लागि अपिल गरेका हुन्।
यादवलाई सुरुमा बेतहा विद्यालयमा सरुवा गरियो। केही समयपछि उनलाई बथनाहा पठाइयो। त्यहाँबाट फेरि गुदिगाउँ सरुवा गरिए। तर, हाल उनलाई दरबन्दी नै हटाएर भसुवा सरुवा गरिएको छ। यादवले यो प्रक्रियालाई नियोजित र प्रतिशोधपूर्ण भन्दै नगरपालिकाको निर्णयको विरोध गरेका छन्।
शिक्षक यादवले अन्यायपूर्ण सरुवाले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा गम्भीर असर पारेको बताएका छन्। उनका अनुसार उनकी श्रीमती दीर्घरोगी तथा पूर्ण अपाङ्ग छिन्, जसको सम्पूर्ण रेखदेख यादवले गर्दै आएका छन्। बारम्बारको सरुवाले परिवारलाई आवश्यक समय दिन नसकेको र आर्थिक तथा मानसिक तनावमा परेको उनको गुनासो छ।
यादवले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूसँग न्यायको माग गर्दै सरुवामा देखिएको पक्षपातपूर्ण व्यवहार रोक्न आग्रह गरेका छन्। "मेरो घरको अवस्था अत्यन्तै जटिल छ। म मेरो बिरामी श्रीमतीको हेरचाह गर्नुपर्छ। यसरी पटक-पटक सरुवा गर्दा म ठूलो मानसिक दबाबमा परेको छु," उनले भने।
शिक्षक यादवले न्यायको माग गर्दै शिक्षा मन्त्रालय, शिक्षक महासंघ र मानव अधिकार आयोगजस्ता निकायहरूसँग आफ्नो समस्या समाधानका लागि अनुरोध गरेका छन्। साथै, यस मुद्दाले शिक्षकहरूको अधिकार र सम्मानलाई लिएर गम्भीर छलफलको आवश्यकता औंल्याएको छ।
यस विषयमा लहान नगरपालिकाका शिक्षा शाखाले कुनै प्रतिक्रिया दिएको छैन। तर, यादवको सरुवासम्बन्धी घटनाले स्थानीय समाज र शिक्षक समुदायमा गम्भीर बहसको विषय बनेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A