फिरोज सिद्दिकी
लहान । लहानस्थित समता स्कुलमा शुक्रबार चौथो संस्करणको 'समता साहित्य उत्सव' भव्यताका साथ सम्पन्न भएको छ। शिक्षा, कला र साहित्यलाई एकसाथ जोड्ने प्रयास गर्दै विद्यार्थीहरूलाई सिर्जनशील बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले जनाएको हो।
कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद लगनलाल चौधरी र अध्यक्षता समता स्कुल लहानका प्रिन्सिपल कमल सिङ्तानले गरेका थिए। कार्यक्रममा प्रमुख वक्ता कवि तथा अनुवादक निमेष निखिलले विद्यार्थीहरूलाई साहित्यलाई जीवनशैलीको रूपमा अपनाउँदै स्रष्टाका रूपमा अघि बढ्न प्रेरित गरे।
कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो चरणमा लहान, राजविराज, गाईघाट, गोलबजार र हेटौंडाबाट आएका कविहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरे। यस भागको संयोजन समता स्कुलका साहित्य दूत बिमल बैद्यले गरेका थिए।
त्यस्तै, दोस्रो सत्रमा समता पूर्वी कन्सोर्टियम अन्तर्गतका विद्यार्थीहरूबीच गायन र नृत्य प्रतियोगिताको मेगा अडिसन सम्पन्न भयो। यसले विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै आत्मविश्वास बढाएको आयोजकले जनाएका छन्।
समता पूर्वी कन्सोर्टियमले वर्षभरि विविध साहित्यिक, सांगीतिक र खेलकुद गतिविधि आयोजना गर्दै विद्यार्थीहरूको बहुआयामिक विकासमा योगदान पुर्याउँदै आएको छ। कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले आगामी दिनमा साहित्य उत्सवलाई देशका अन्य समता स्कुलहरूमा पनि विस्तार गरिने जानकारी दिए।
उत्तम संजेलको नेतृत्वमा स्थापना भएको समता स्कुलले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै देशभर सकारात्मक छाप छोडेको छ। समता स्कुलको यो प्रयासले विद्यार्थीहरूलाई सिर्जनशीलता र व्यक्तित्व विकासका क्षेत्रमा सशक्त बनाउँदै आएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A