फिरोज सिद्दिकी
लहान, माघ ७ गते । लहान एभरेस्ट कलेज तथा माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले आफ्नो इतिहास र प्रगतिको यात्रालाई स्मरण गर्दै विशेष कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा लहानका विभिन्न क्षेत्रका व्यक्तित्व, पत्रकार, समाजसेवी, पूर्व मन्त्री, मधेस प्रदेशका सभा सदस्यहरू, लहानका सरकारी तथा निजी विद्यालयका प्रतिनिधिहरू र लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोको उपस्थिति रहेको थियो। उनीहरूलाई समारोहमा सम्मानपत्र र मायाको चिनो प्रदान गरियो।
विद्यार्थीहरूको सक्रिय सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो, जसले उपस्थित अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। नृत्य, गायन, नाटकजस्ता कार्यक्रमहरूले विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूको क्षमताको झल्को दिएको थियो।
सांस्कृतिक कार्यक्रमसँगै, विद्यार्थीहरूले फुड स्टल पनि सञ्चालन गरेका थिए। स्टलहरूमा परम्परागत तथा आधुनिक परिकारहरूको प्रदर्शनी गरिएको थियो, जसले सहभागीहरूमा उत्साह थपेको देखिन्थ्यो।
कार्यक्रमले विद्यालयको शैक्षिक योगदान र सामुदायिक सहभागितालाई थप प्रोत्साहित गरेको भन्दै अतिथिहरूले प्रशंसा व्यक्त गरे। विद्यालयका प्रधानाध्यापकले यो सफलतामा सबैको सहकार्य र योगदानको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आभार प्रकट गरे।
समारोहले लहान एभरेस्ट कलेज तथा माध्यमिक विद्यालयलाई शैक्षिक उन्नयनको यात्रामा नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A