सन्जु कुमारी दास,
सिरहा, फागुन २२ गते । आउँदै गरेको ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा नवराजपुर गाउँपालिकाको सभा हलमा श्रमिक महिलाहरूको मानव अधिकार सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नवराजपुर गाउँपालिकाको आयोजना तथा मुक्ति नेपाल गोलबजार, इन्सेक सिराहा, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब लगायत संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो।
कार्यक्रमको अध्यक्षता नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले गरेका थिए भने उपाध्यक्ष पुनम कुमारी यादव, विभिन्न वडाका अध्यक्षहरू, जिल्ला समन्वय समितिकी सदस्य जानकी यादव, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा, इन्सेक प्रतिनिधि दुर्गा परियार, प्रहरी इन्सपेक्टर रविनराज मैनाली, स्थानीय बासिन्दा, महिला, युवा, बुद्धिजीवी, राजनीतिककर्मी लगायतको उपस्थिति रहेको थियो।
मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले श्रमिक महिलाहरूको अवस्था सुधार्न उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, "महिलाहरूले आफ्नो हक प्राप्त गर्न आन्दोलन गर्नैपर्छ, किनभने सामाजिक संरचना नै उनीहरूका लागि बाधक बन्ने गरेको छ। श्रमिक महिलाहरू पारिश्रमिक, बीमा, सञ्चयकोष र सुरक्षाको सवालमा पछाडि पारिएका छन्।"
त्यस्तै, समग्र जनउत्थान केन्द्रकी अध्यक्ष अनिता चौधरीले महिलाहरू घर तथा बाहिर दुबै ठाउँमा श्रम गरिरहे पनि सम्मानको अभाव रहेको बताइन्। उनले परिवर्तन आफ्नै घरबाट सुरुवात गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रममा हालैको रिंकुश सदा हत्याकाण्डका बारेमा पनि छलफल भयो। वक्ताहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। नवराजपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष नवीन यादवले आफूलाई घटना मृत्युपछि मात्र जानकारी भएको बताए। प्रहरी प्रशासनले पीडितले न्याय पाउने वातावरण बनाउनुपर्नेमा सहभागीहरूले जोड दिए।
वडा अध्यक्ष सुरेशकुमार यादवले सामाजिक विभेदकै कारण श्रमिक महिलाहरू शोषणको सिकार हुने बताए। उनले "शिक्षा नै आत्मनिर्भरताको मूल आधार हो र प्रत्येक विकृतिको अन्त्य आफूबाटै सुरु गर्नुपर्छ," भने।
त्यस्तै, भूमिहीन किसान संगठनका प्रतिनिधि शिवराम महराले ३६ वर्षदेखि नवराजपुरमा काम गर्दाको अनुभव साझा गर्दै यस्ता कार्यक्रमले समाजमा चेतना बढाउने बताए।
कार्यक्रममा महेशपुर पतारका प्रहरी इन्सपेक्टर रविनराज मैनाली ले पछिल्लो समय बलात्कारका घटनाबारे जाहेरी फेक हुने गरेको र माथिबाटै घटनाको सत्यता पहिला बुझ्न आदेश आएको बताए।
उनको भनाइको कडा प्रतिवाद गर्दै मुक्ति नेपालकी अध्यक्ष महराले बलात्कार जस्तो संवेदनशील मुद्दामा जाहेरी लिन ढिलाइ हुनु निन्दनीय भएको बताइन्। उनले "पहिले जाहेरी दर्ता गरी अनुसन्धान गर्नुपर्छ, कानुनी प्रक्रियामा चलखेल हुनु हुँदैन," भनिन्।
कार्यक्रमको अन्त्यमा नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले पालिकाले श्रमिक महिलाहरूको अधिकार सुनिश्चित गर्न पहल गरिरहेको बताए। साथै, "सामाजिक न्याय सुनिश्चित गर्न कानुनी व्यवस्था लागू गरिनेछ," भन्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महिला हिंसा, श्रमिक अधिकार, सामाजिक विभेद, लागू औषध नियन्त्रण लगायत विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग समेत गरेका थिए।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A