फिरोज सिद्दिकी,
लहान, फागुन २५ गते । "कृषि श्रमिकको एकता, रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता" भन्ने मूल नाराका साथ नेपाल कृषि तथा बागवान क्षेत्र श्रमिक संघ (फापुन)को छैठौँ राष्ट्रिय अधिवेशन सिरहाको लहानमा सुरु भएको छ।
आइतबार अधिवेशनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारमा ठूलो परिवर्तन आएको बताउँदै संगठन स्वतन्त्रता, न्यूनतम ज्याला मात्र नभई जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले जबसम्म कृषि मजदुरहरूको जीवनस्तर उकासिँदैन, तबसम्म देश समृद्ध बन्न नसक्ने भन्दै श्रमिकहरूको जीवनस्तर सुधारका लागि सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए। साथै, संघीय, प्रदेश र स्थानीय तहका सरकारहरूले लोककल्याणकारी राज्य निर्माणका लागि अन्य क्षेत्रसरह श्रमिक वर्गको मानव संसाधनमा पनि लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।
पूर्णबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लहान नगरपालिकाका पूर्व मेयर मुनि साह, नेकपा एमाले लाहान नगर कमिटीका अध्यक्ष राजकुमार साह, रामदेव शाह रोनियार, कमलेश झा, बिदुर कार्की लगायतको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण प्रदीप चौधरीले गरेका थिए भने स्वागत मन्तव्य माया भण्डारीले दिएकी थिइन्। यस अवसरमा नेपाल कृषि तथा बागवान क्षेत्र श्रमिक संघ (फापुन)का पूर्व केन्द्रीय अध्यक्ष पूर्णचन्द्र उपाध्याय र पूर्व केन्द्रीय सदस्य बिन्दिराम मोचीलाई सम्मानित गरिएको थियो।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A