सिरहा, चैत ७ । सिरहाको औरही–५ मा लाग्न लागेको विष्णु महायज्ञका लागि त्यहाँ बस्दै आएका दलित परिवारलाई बलपूर्वक विस्थापित गरिएको छ। महायज्ञको मण्डप नजिक दलित आउजाउ गर्न नहुने भन्दै आयोजक बजरंगी बाबा र गाउँपालिका अध्यक्ष शिवजी यादवको निर्देशनमा दलित दीपक मलिक डोमको घर डोजर लगाएर भत्काइएको हो।
विगत ३० वर्षदेखि बस्दै आएको घर गुमाएका मलिक परिवारका सदस्य अहिले गाउँभन्दा टाढा, सुनसान क्षेत्रमा अस्थायी टहरामा बस्न बाध्य भएका छन्। फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर उनीहरूको दुईकोठे पक्की घर भत्काइयो। अझ अछुत बस्दै आएको भन्दै घर रहेको ठाउँको माटोसमेत खनेर फालिएको छ।
विस्थापित परिवारका सदस्य अनिता मलिक डोमका अनुसार उनीहरूलाई गाउँकै एकान्त क्षेत्रमा लगेर बाँसको अस्थायी टाटी राखेर बस्न बाध्य बनाइएको छ। खानेपानी, बिजुली लगायत कुनै पनि आधारभूत सुविधा उपलब्ध नगराइएकाले परिवारले ठूलो सास्ती खेप्नुपरिरहेको छ।
"हामी हाम्रो घरमा खुशीसाथ बस्दै थियौं। तर, अहिले एकान्त स्थानमा सारियो। पानीसमेत छैन। उज्यालोको लागि टुकी बाल्नुपर्छ," अनिताले भक्कानिँदै भनिन्।
गाउँमा रहेको प्रहरी चौकी तथा स्थानीय अगुवा भने यो घटनाप्रति मौन छन्। जागिरबाट निकाल्ने डरले दीपक मलिक डोम र उनकी श्रीमती अनिताले उजुरीसमेत गर्न सकेका छैनन्।
पीडित परिवारका छोराका अनुसार उनीहरूले कमजोर भएकाले विरोध गर्न नसकेको र दलित भएकै कारण यो अन्याय सहन बाध्य भएको बताए।
यो घटनाले नेपालमा अझै जातीय भेदभाव व्याप्त रहेको पुष्टि गरेको छ। सरकारी तथा गैरसरकारी संघसंस्थाले तत्काल हस्तक्षेप गरी पीडित परिवारलाई न्याय दिनुपर्ने आवाज उठ्न थालेको छ। -कान्तिपुरबाट
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A