सिरहा । सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष, जनमत पार्टीका नेता दिलीप यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार अपराह्न उनीहरूलाई जातीय छुवाछुतको आरोपमा नियन्त्रणमा लिएका हुन्।
उनीहरूलाई दलित दीपक मरिकको घर भत्काउने र माटो अपवित्र भन्दै खुर्केर फाल्ने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहाको औरही गाउँपालिका–५ मा आगामी १७ चैतदेखि आयोजना हुन लागेको श्री विष्णु महायज्ञ स्थलमा दीपक मरिकको घर रहेको भन्दै आयोजक बाबा बजरंगीको सल्लाहअनुसार अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवले डोजर लगाएर घर भत्काएको आरोप लागेको छ।
घर भत्काएपछि त्यहाँको माटो अपवित्र भन्दै खुर्केर फालिएको थियो। घटनामा संलग्न रहेको आरोप लागेका बाबा बजरंगी भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस घटनापछि संघीय संसद र प्रदेश सभामा दर्जनौँ सांसदले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। आज काठमाडौंमा दलित समुदायका संघ–संगठनहरूले विशाल प्रदर्शन गरेका छन्।
यस्तै, गृह मन्त्रालयले छुवाछुतको घटनामा नरम व्यवहार गरेको भन्दै सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालयमा तानेको छ। मन्त्रालयले घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएको छ।
यता गाउँपालिका अध्यक्ष शिवजि यादव र पुर्व वडा अध्यक्ष दिलिप कुमार यादवलाई बिना शर्त रिहाईको माग राख्दै जिल्ला प्रहरी कार्यालय सिराहा अगाडि प्रदर्शन गरिरहेका छन्।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A