सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र एक शव फेला परेको छ। शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुगेको छ।
प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन। तर सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन्, जसका कारण स्थानीयहरूले शव उनकै हुन सक्ने आशंका गरेका छन्।
बालिका खातुन गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनी फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केकी थिइन् तर फर्केर नआएपछि उनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालयमा छोरी हराएको जानकारी गराउँदै निवेदन दिएकी थिइन्।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले शव कुहिएको अवस्थामा फेला परेका कारण पहिचान गर्न कठिनाइ भएको बताए। 'शवको पहिचान खुल्न बाँकी छ। अनुसन्धानपछि मात्र निश्चित भन्न सकिन्छ,' उनले भने।
शव फेला परेपछि स्थानीयहरू त्रसित बनेका छन् भने घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A