फिरोज सिद्दिकी
लहान, सिरहा । मुस्लिम समुदायको पवित्र पर्व रमजानको अवसरमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपाल, लहान, सिरहाले ८० जना विपन्न हिन्दु-मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
रमजान पर्वमा दिनभरि रोजा बस्ने मुस्लिम धर्मावलम्बीहरूले साँझ धार्मिक विधिअनुसार इफतार गर्छन्। तर, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई रमजान मनाउन कठिनाइ हुने भएकाले सोसाइटीले सहयोग गरेको हो।
‘ईद सामग्री वितरण’ कार्यक्रम अन्तर्गत गरीब, विधवा, अनाथ तथा असहाय पीडित परिवारलाई प्राथमिकता दिँदै प्रति परिवार २५ केजी चामल, १ केजी सबई, १ केजी प्याज, आधा केजी चिनी, आधा लिटर तेल र ५ सय नगद सहितको खाद्यान्न सामग्री प्रदान गरिएको हो।
युथ मुस्लिम वेलफेयर सोसाईटी, नेपाल, लहानका अध्यक्ष इसराईल सिद्दिकीले समाजका सदस्य तथा मनकारी दाताहरूबाट संकलित चन्दाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले खाद्यान्न सामग्रीले विपन्न परिवारको केही आवश्यकता पूर्ति हुने विश्वास व्यक्त गरे।
मुस्लिम सामाजिक अगुवा तथा सोसाईटीका सदस्य मो. सद्दाम हुसैनका अनुसार रमजानको समयमा ब्रत बसेका परिवारलाई खानाका लागि समस्या नहोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको हो।
युथ मुस्लिम वेलफेयर सोसाईटी, नेपालले विगत लामो समयदेखि मुस्लिम समुदायका गरिब तथा दुःखी परिवारलाई सहयोग गर्दै आएको छ। खाद्यान्न सामग्री वितरण कार्यक्रममा सोसाइटीका पदाधिकारीहरू तथा पत्रकारद्वय फिरोज सिद्दिकी र मो. रहमुलको रोहबरमा वितरण गरिएको थियो।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A