फिरोज सिद्दिकी
सिरहा । मधेस प्रदेशका चौथो तथा पाँचौँ तहका स्वास्थ्यकर्मीहरू स्तरवृद्धिबाट बञ्चित भएको भन्दै अनिश्चितकालीन धर्नामा बस्ने घोषणा गरेका छन्। उनीहरू स्थानीय सेवा गठन तथा संचालन ऐन २०८१ को दफा २९ को उपदफा २ का कारण आफूहरू अन्यायमा परेको दाबी गर्दै आएका हुन्।
स्वास्थ्यकर्मी संघर्ष समितिले पछिल्लो दुई महिनादेखि लिखित तथा मौखिक रूपमा प्रदेश सरकारका सम्बन्धित निकायहरूलाई आफ्ना मागहरू अवगत गराउँदै आएको थियो। तर, बारम्बार ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै ठोस निर्णय नलिएपछि उनीहरूले दबाबस्वरूप धर्ना बस्ने निर्णय गरेका हुन्।
यसअघि चैत ८ गते संघर्षरत स्वास्थ्यकर्मीहरूले शान्तिपूर्ण र्याली निकालेर मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेश प्रमुखको कार्यालयसम्म अल्टिमेटम बुझाएका थिए। साथै, प्रदेश सभा अगाडि एक दिने धर्ना समेत दिएका थिए। तर, कुनै सकारात्मक प्रतिक्रिया नआएपछि उनीहरूले चैत १६ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना बस्ने घोषणा गरेका थिए।
तर, चैत १५ गते बसेको संघर्ष समितिको बैठकले मुस्लिम समुदायको रमजान पर्व तथा हिन्दू धर्मावलम्बीहरूको चैते दशैं र रामनवमीलाई ध्यानमा राख्दै धर्ना कार्यक्रमलाई केही समयका लागि सार्ने निर्णय गरेको छ। अब, चैत २५ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक मोहन शाहले जानकारी दिए।
स्वास्थ्यकर्मीहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारलाई यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दै सेवा वृद्धि तथा ऐनमा आवश्यक संशोधनको माग गरेका छन्। साथै, प्रदेश सरकार वार्तामा आए समाधान निकाल्न तयार रहेको पनि संघर्ष समितिले जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A