फिरोज सिद्दिकी
सिरहा, चैत्र २० गते । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, तामासुइयामा एक दिने निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
खाद्य तथा कृषि संगठन नेपाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा तथा राष्ट्रिय पशु प्रजनन कार्यालय लहानको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा स्थानीय किसानहरूले पशु स्वास्थ्य उपचारका विभिन्न सेवा निःशुल्क प्राप्त गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना कलस्टर इकाई सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा पशुहरूको गोबर जाँच, खोप, बाँझोपन परीक्षण, बाहिरी परजीवी नियन्त्रण, कृतिम गर्भाधान, बन्ध्याकरण, रोग निवारणजस्ता सेवा प्रदान गरिएको थियो। साथै, उपस्थित पशुपालक किसानहरूलाई स्वस्थ पशुपालन सम्बन्धी परामर्श दिइएको र निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आयोजना कलस्टर इकाई सप्तरीका प्रमुख रविन्द्र कुमार महथा, नवराजपुर–१ का वडा अध्यक्ष नवीन कुमार यादव, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख डा. विजय प्रकाश चौधरी, कृषि अधिकृत विजय कुमार मण्डल, कृषि विज्ञ प्रियंका कुमारी साह र पोषण विज्ञ ललिता कुमारी दासलगायतको उपस्थिति रहेको थियो।
स्थानीय किसानहरूले शिविरबाट ठूलो लाभ लिएको बताएका छन्। उनीहरूले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A