फिरोज सिद्दिकी
सिरहा, चैत २५ गते । सिरहाको गोलबजार–९, गोबिन्दपुरमा बिद्युतीय धरापमा परेर १३ वर्षीया गुलसना खातुनको मृत्यु भएको र शवलाई प्लास्टिकको बोरामा राखी खोलानजिक गाडिएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, गुलसना खातुन गत फागुन २९ गते बिहान ९ बजे “घाँस काट्न जान्छु” भनी घरबाट निस्केकी थिइन्। तर घर नफर्किएपछि उनकी आमाले खोजतलासका लागि चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएकी थिइन्।
चैत १२ गते दिउँसो घुर्मी खोलाको किनारमा प्लास्टिकको बोराभित्र करिब १३/१४ वर्षकी बालिकाको शव फेला परेको थियो। काका सफिजुल रहमानले शव गुलसना खातुनकै भएको पहिचान गरेपछि अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीको अनुसन्धान अनुसार, मकै बाली जोगाउन गोबिन्दपुरका २४ वर्षीय जनक उर्फ बिर बहादुर सार्कीले आफ्नो खेतमा बिद्युतीय धराप थापेका थिए। सोही धरापमा परेर गुलसना खातुन गम्भीर घाइते भएकी थिइन्। बालिका धरापमा परेको आवाज सुनेर घटनास्थल पुगेका सार्कीले बालिकालाई मृत अवस्थामा फेला पारेपछि उनले साथमा रहेको हँसिया, खुर्पा, चप्पल र चामलको बोरा त्यहीँ छाडेर शवलाई अर्को पहेँलो प्लास्टिकको बोरामा राखेर घुर्मी खोलानजिक खाल्टो खनी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनामा संलग्न सार्कीलाई चैत २४ गते पक्राउ गरी मिर्चैया इलाका प्रहरी कार्यालयमा राखेको छ। उनलाई ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जनाएको छ।
उनले बालिका मृत अवस्थामा फेला परेको यो घटना गम्भीर प्रकृतिको भएकाले दोषीउपर कडा कारवाही हुने प्रतिबद्धता जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A