सिरहा, जेठ ४ । भारतसँग सीमा जोडिएको सिरहा जिल्लामा पुनः लागुऔषध कारोबार र स्रोत नखुलेको नगद ओसारपसारमा संलग्न गिरोह सक्रिय भएको देखिएको छ। पछिल्ला २४ घण्टामा प्रहरीले तीन फरक घटनाबाट स्रोत नखुलेको ७१ लाखभन्दा बढी नगद र खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ।
सबै घटना सीमावर्ती क्षेत्र वरपर र भित्री सडकमार्गमा भएका हुन्, जसले नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी आपराधिक गतिविधि मौलाउँदै गएको संकेत गर्छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पाशवानका अनुसार पक्राउ परेकामध्ये एकजनाले यसअघि पनि लागुऔषध कारोबारकै अभियोगमा जेल सजाय भोगिसकेका थिए।
शनिबार साँझ लहान नगरपालिका–१२ स्थित भोटिया टोलमा, लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दिनेश कुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई खैरो हिरोइन र नगदसहित पक्राउ गर्यो। उनीहरूकै घरमा गरिएको खानतलासीबाट नेपाली ५४ लाख १४ हजार रुपैयाँ र भारतीय ३५ हजार ७८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। दिनेश यसअघि २०७९ साउनमा पक्राउ परी ६ महिना जेल सजाय भुक्तान गरी माघमा छुटेका थिए।
अर्को घटनामा, शनिबार दिउँसो सिरहा नगरपालिका–२ स्थित महावीर चौक नजिकै भारततर्फबाट आइरहेको बिआर नम्बरको मोटरसाइकल रोकी प्रहरीले संजय कारक (४५) लाई १६ लाख ३८ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
त्यसैदिन बरियारपट्टी गाउँपालिका–३ स्थित चमार टोलमा मोटरसाइकलमा भारतबाट आएका दुई युवक कृष्ण कुमार यादव (२०) र निरज राय (१९) लाई ७१० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको छ।
यी घटना एकै दिनमा भएका हुन्, जसले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती अझ बढेको पुष्टि गर्छ। लागुऔषध कारोबारमा पहिले नै जेल सजाय भोगेका व्यक्ति पुनः संलग्न हुनुले पुनर्संरचना प्रणालीमा कमजोरी रहेको स्पष्ट देखिन्छ। प्रहरीले तीनवटै घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A