फिरोज सिद्दीकी
सिरहा । महिलाको आस्था, प्रेम र आत्मबलको प्रतीक बटसावित्री (बरसाइत) पर्व सोमबार सिरहाको लहानसहित देशभर श्रद्धाभावपूर्वक मनाइएका छन्। विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुखमय जीवनको कामना गर्दै धार्मिक विधिअनुसार पूजा–अर्चना गरेर मनाएका हुन्।
हिन्दू धर्मावलम्बी महिलाहरू विशेषगरी बरको रूखमुनि विधिपूर्वक पूजापाठ गरी सावित्री–सत्यवानको कथाको स्मरण गर्छन्। यो पर्वले आत्मसमर्पण, निष्ठा र सांस्कृतिक आस्थालाई उजागर गर्छ।
लहानदेखि ग्रामीण क्षेत्रसम्म बिहानैदेखि महिलाहरू नुहाएर नयाँ पहिरनमा सजिएर बरको रूखमुनि भेला भएका थिए। उनीहरूले बाँसको डालोमा सात प्रकारका फलफूल (जस्तै आँप, लिची, अंगुर, स्याउ, केरा), लड्डु, पान, सुपारी, सिन्दुर, पिठार, रोली धागो, बाँसको पंखा आदि राखी रातो कपडाले छोपेर पूजा अर्पण गरेका थिए। पूजापछि महिलाहरूले सावित्री–सत्यवानको कथा सुन्ने र श्रवण गराउने परम्परा निभाएका छन्।

लहान–२ की व्रतालु तथा ग्लोबल एकेडेमी लहानकी प्रधानाध्यापक कञ्चल साहका अनुसार बटसावित्री केवल धार्मिक अनुष्ठान मात्र नभई विवाहित महिलाको आस्था, प्रेम र आत्मबलको गहिरो अभिव्यक्ति हो। उनले भनिन्, 'बरको रूखलाई श्रीमानसरह सम्झेर पूजा गरिन्छ। पूजा गरेपछि घर फर्केर पतिको पनि पूजा गरेर प्रसाद दिइन्छ। पति घरमा नभए त्यही प्रसाद पोखरी वा तलाउमा विसर्जन गरिन्छ।'
पौराणिक कथाअनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानको प्राण यमराजबाट फिर्ता ल्याउन कठोर तपस्या गरेकी थिइन्। त्यसबेलादेखि आजसम्म सावित्रीको श्रद्धा र आत्मबलको प्रतीकस्वरूप यो पर्व मनाउने परम्परा जीवित छ।

ब्रतालुहरूका अनुसार यो पर्व जेठ कृष्ण औँसीका दिन मनाइन्छ। यसको पूर्वसन्ध्यामा महिलाहरू स्नान गरी शुद्ध शाकाहारी भोजन गरेर ब्रत आरम्भ गर्छन्।
नेपालसहित भारतका उत्तर प्रदेश, बिहार, झारखण्ड, उडिसा र पश्चिम बंगाल राज्यहरूमा समेत यो पर्व विशेष श्रद्धाका साथ मनाइन्छ। बरको रूखलाई जीवनदायिनी शक्तिको प्रतीक मानिँदै आएको छ। महिलाहरूको श्रद्धा, निष्ठा र सांस्कृतिक परम्पराप्रति अगाध आस्थाको प्रतीक यो पर्व आजपनि उत्तिकै प्रासंगिक देखिन्छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A