लहानमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न : स्व. कृष्ण सेन ‘इच्छुक’प्रति श्रद्धाञ्जली अर्पण

  • जेठ १४, २०८२
  • समृद्धिपथ
alt

लहान, जेठ १३ । प्रेस सेन्टर नेपाल सिरहा शाखाको आयोजनामा मंगलबार लहानमा दीप प्रज्वलन कार्यक्रम गरी प्रगतिशील पत्रकार, लेखक तथा साहित्यकार स्वर्गीय कृष्ण सेन 'इच्छुक'को २३औँ स्मृति दिवस मनाइएका छन्। कार्यक्रममा बोल्ने वक्ताहरूले निरङ्कुशता र स्वेच्छाचारिताविरुद्ध निरन्तर कलम चलाउनु नै स्व. इच्छुकप्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गरेका हुन्।

प्रेस सेन्टर नेपाल मधेश प्रदेशका महासचिव जिवछ यादव ‘उदासी’ले पत्रकारिताको क्षेत्रमा बढ्दो जटिलता र चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र, गणतन्त्र र संघीयताको संरक्षणका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताए। उनले भने, “साहित्यकार र पत्रकारको रूपमा इच्छुकले देखाएको समाजवादी सपना अझै अधूरो छ। त्यसलाई पूरा गर्न वामपन्थी र प्रगतिशील धारका सबै पत्रकार एकजुट हुनुपर्छ।”

त्यसैगरी, नेपाल प्रेस चौतारी नेपाल सिरहा अध्यक्ष शिव कुमार साहले जनपक्षीय पत्रकारितामा इच्छुकले पुर्‍याएको योगदानको स्मरण गर्दै वर्तमान अवस्थामा गणतन्त्रविरोधी गतिविधिहरू बढ्दै गएका कारण प्रगतिशील पत्रकारहरू सचेत र एकताबद्ध हुनुपर्ने धारणा राखे।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै वरिष्ठ पत्रकार तथा प्रेस सेन्टर नेपालका नेता मणिलाल विश्वकर्माले जनपक्षीय पत्रकारिताका प्रतीक कृष्ण सेन इच्छुकको योगदान स्मरण गर्दै वर्तमानमा उहाँले देखाएको बाटोमा अडिग रहनु पर्ने आवश्यकता औंल्याए। उनले भने, “महान् शहीद कृष्ण सेन इच्छुक निरङ्कुशता र शोषणविरुद्ध निर्भिकतापूर्वक आवाज उठाउने पत्रकार हुनुहुन्थ्यो। उहाँका विचार र मूल्यहरू आज पनि मार्गदर्शक हुन्।”

नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष रोयन्टर मण्डलले आजको पत्रकारिता नेतामुखी, ठेकेदारमुखी र मालिकमुखी बन्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले पत्रकारितालाई फेरि जनतामुखी बनाउन स्व. इच्छुकको बाटो अँगाल्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर सिरहाका सचिव सुदिप राउतले गरेका थिए भने समापन प्रेस सेन्टर सिरहाका अध्यक्ष रामभरोसी यादवले गरे। कार्यक्रममा जिल्लाभरका श्रमजीवी पत्रकारहरू, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरू तथा प्रगतिशील लेखकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्व. कृष्ण सेन ‘इच्छुक’लाई २०५९ सालमा तत्कालीन सरकारले विद्रोही नेकपा माओवादीको आरोपमा पक्राउ गरी हिरासतमै हत्या गरेको थियो। उनी पत्रकारिता, साहित्य र राजनीतिमा सक्रिय रहँदै जनपक्षीय विचार, न्याय र परिवर्तनको पक्षमा कलम चलाउने एक अग्रणी व्यक्तित्व थिए। प्रेस सेन्टर नेपालले स्व. इच्छुकको स्मृतिमा देशभर विविध कार्यक्रमको आयोजना गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A