फिरोज सिद्दिकी
१० असार, गोलबजार । गोलबजार नगरपालिकाको १३औं नगर अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख श्याम कुमार श्रेष्ठले बजेटले उत्पादनमुखी कृषि प्रणाली, सर्वसुलभ सेवा र समावेशी पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्।
नगरप्रमुख श्रेष्ठले भने, "यस वर्षको बजेट वातावरणमैत्री विकास, प्रविधिमैत्री योजनाहरू, लघु तथा घरेलु उद्योगको प्रवर्द्धन र स्थानीय सीपमा आधारित रोजगारी सिर्जनातर्फ लक्षित छ। हामी कृषि, शिक्षा र स्वास्थ्यलाई समृद्धिको मूल आधारका रूपमा अघि बढाउँदैछौं।"
उनले सामाजिक न्याय, सुशासन र दिगो शहरीकरणका लागि बजेटमार्फत जनमैत्री प्रशासन निर्माण गरिने स्पष्ट पारे। नगरवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यले बजेट ल्याइएको र स्रोतको अधिकतम उपयोग गर्दै विकासलाई तीव्रता दिने प्रतिबद्धता पनि जनाए।
उपप्रमुखद्वारा बजेट प्रस्तुति
नगर उपप्रमुख मान्ती साहले अधिवेशनमा चालू खर्चतर्फ १९ करोड ८४ लाख ८७ हजार, पूँजीगत तर्फ २८ करोड ४० लाख २ हजार, र वित्तीय हस्तान्तरणतर्फ ३३ करोड ६५ लाख रुपैयाँ गरी कुल ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्ताव गरिन्।
उनले बजेटमार्फत नगरको आर्थिक गति बढाउँदै सामाजिक विकास, पूर्वाधार सुदृढीकरण र सेवा प्रवाहमा प्रभावकारिता ल्याइने बताइन्। बजेट कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारका विभिन्न शीर्षकबाट अनुदान र आन्तरिक स्रोतलाई भरपूर उपयोग गरिने जानकारी दिइयो।
स्थानीय विकासमा आशा
बजेटले स्थानीय उद्यमशीलता प्रवर्द्धन, सूचना प्रविधिमा आधारित सेवा विस्तार, स्वरोजगार कार्यक्रम, सहकारी विस्तारजस्ता योजनालाई प्राथमिकता दिएको छ। सहभागी योजना निर्माण, सामाजिक लेखा परीक्षण र पारदर्शिता आधारित शासकीय अभ्यासलाई समेत सुदृढ बनाइनेछ।
नगर प्रमुख श्रेष्ठले विकास निर्माणका कामहरू नगरबासीको अपेक्षा अनुसार अघि बढाउने प्रतिवद्धता जनाउँदै आर्थिक वर्ष २०८२/०८३ लाई समावेशी र दिगो विकासको आधार वर्ष बनाइने विश्वास व्यक्त गरे।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A