समृद्धिपथ दैनिक
लहान, श्रवण ५ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विभिन्न शिर्षकमा भएको अनियमितता र मनपरी खर्चको विरोधमा नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीसहित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरूले आइतवार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
उनीहरूले सूचनाको हक अन्तर्गत विभिन्न योजना, गतिविधि, गाडी भाडा, संचालन खर्च लगायतमा व्यापक दुरुपयोग भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
नेता तथा कार्यकर्ताहरूले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरको ध्यानाकर्षण गराउँदै किसानहरूको ट्रान्सफर्मर जडान तथा खानेपानीको समस्या लगायतका महत्वपूर्ण विषयमा पालिकाले बेवास्ता गरेको आरोप लगाएका छन्।
स्थानीय एमाले नेताहरूका अनुसार पालिकाले तत्काल आवश्यक नपर्ने सामग्री खरिदमा रकम खर्च गर्ने, सस्तो लोकप्रियता कमाउने ‘लट्कचट्क’ कार्यक्रमहरूमा बढी ध्यान दिने तर दीर्घकालीन र ठोस विकासका योजनाहरू उपेक्षा गर्ने प्रवृत्ति देखिएको छ।
उनीहरूले पालिकाबाट प्राप्त हुने योजनाको विवरण, बजेट खर्च, समिति गठन, ठेक्का प्रक्रिया लगायतका विवरणहरू सार्वजनिक गर्न माग गर्दै पारदर्शिता र जवाफदेहीताको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्।
तालाबन्दीपछिको अवस्था बारे गाउँपालिका प्रशासन तथा अध्यक्ष पक्षले भने कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर एमाले पक्षले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।
⧫ मुख्य मागहरू:
योजना र बजेटको पारदर्शिता
किसानका लागि ट्रान्सफर्मर जडान
खानेपानी समस्या समाधान
अनावश्यक खरिद तथा खर्चमा नियन्त्रण
विकासमुखी कार्यक्रमको प्राथमिकता
स्थानीय राजनीतिक वृत्तमा यो आन्दोलनले थप तरंग ल्याएको छ। पालिकामा पारदर्शिता र जवाफदेहीतासँगै जनताको माग सम्बोधन गरिनुपर्ने आवाज अझ बुलन्द भइरहेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A