सम्पादकीय:
बलान पुल नजिक लहानमा विना नेमप्लेटका ट्राफिक प्रहरीले गाडी चालकसँग गरेको अमानवीय व्यवहार र हातपातको घटना कुनै सामान्य प्रहरी कार्यशैलीको प्रतिबिम्ब होइन, यो कानुनी राज्यमा असंवेदनशीलता, दण्डहीनता र शक्ति दुरुपयोगको गम्भीर सङ्केत हो। ट्राफिक प्रहरीले आफ्नो औपचारिक पोशाकमै नामै नभएको अवस्थामा नागरिकसँग दुव्र्यवहार गर्नु, हातपात गर्नु र गालीगलौज गर्नु केवल प्रहरी संगठनको गरिमा मात्र होइन, नागरिक–प्रशासन सम्बन्धको भरोसामाथि समेत प्रहार हो।
विगत केही वर्षयता देशभर ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै गौरव गरिँदै आएको छ। तर लहानमा जस्तो व्यवहारले त्यो सुधारको आधार नै चर्किएको देखिन्छ। नियम कार्यान्वयन गर्नु प्रहरीको कर्तव्य हो, तर नियमकै नाममा सर्वसाधारणसँग गुन्डागर्दी शैलीमा प्रस्तुत हुनु अक्षम्य अपराध हो। कानुनको शासनमा जनतालाई दुव्र्यवहार गर्ने अधिकार कसैलाई छैन न प्रहरीलाई, न कुनै अन्य शक्तिलाई।
स्थानीय नेता जितेन्द्र यादवले घटनाप्रति जताएको आक्रोश र अनुसन्धान तथा कारबाहीको माग समय सान्दर्भिक छ। लोकतन्त्रमा सुरक्षा निकाय जनताको सेवा र सुरक्षाका लागि हो, दमन र तर्साउनका लागि होइन। विना नेमप्लेट ड्युटीमा खटिनु भनेको पहिचान लुकाएर गैरकानुनी कार्य गर्न खोजिएको सङ्केत हो, जुन सुरक्षा व्यवस्थाकै लागि खतरनाक अभ्यास हो। यसले ‘पहरादारीको जिम्मेवारी’लाई नै बदनाम गर्छ।
आजको युगमा प्रहरीले जनमैत्री, जिम्मेवार र पारदर्शी ढंगमा सेवा पुर्याउनु आवश्यक छ। यसका लागि प्रहरी प्रशासनभित्र आन्तरिक अनुशासन, निगरानी र उत्तरदायित्व पक्कापक्की हुनुपर्छ। यस्तो दुर्व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही मात्र होइन, पीडित चालकसँग माफी र क्षतिपूर्तिको व्यवस्था गरिनु आवश्यक छ।
ट्राफिक प्रहरी व्यवस्थामा सुधार गर्न जनगुनासो सुन्ने संयन्त्र, हेल्पलाइन, सीसीटीभी निगरानी र ट्राफिक प्रहरीको अनिवार्य नेमप्लेट र परिचय कार्ड प्रणाली प्रभावकारी रूपमा लागू गर्न ढिला गर्नु हुँदैन। एकातिर नागरिकले कानुनको सम्मान गर्नुपर्छ भने अर्कोतर्फ राज्य संयन्त्रले पनि आफू कानुनी दायराभित्र रहनुपर्छ।
नत्र, यस्ता व्यवहारले प्रहरीप्रतिको विश्वास गुमाउनुका साथै सामाजिक असन्तोष र आक्रोश बढाउँछ, जसको मूल्य सिङ्गो राज्य प्रणालीले चुकाउनु पर्ने हुन्छ। त्यसैले, आजैबाट यस्ता घटनालाई गम्भीर रूपमा लिएर सशक्त कार्यवाहीको मिसाल कायम गरिनुपर्छ। यही हो सच्चा कानुनी राज्यको अभ्यास।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A