सिराहा । विष्णुपुर गाउँपालिका–५, लक्ष्मीपुर गाउँमा सोमबार दिउँसो किशोरकिशोरी पक्षबिचको दोहोरो झडपमा पाँचजना घाइते भएका छन्। घटना किशोरवयमै प्रेमविवाह गरेको भनिएका युवक–युवतीसँग सम्बन्धित रहेको छ।
घाइतेमध्ये प्रेमविवाह गरेकी किशोरीसहित उनकी दिदी, किशोर पक्षबाट अविरन महतो, उनका छोराहरू जीवन र दिपन रहेका छन्। घाइते सबैलाई सिराहा प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। अवस्था गम्भीर रहेकी किशोरीलाई थप उपचारका लागि सोमबार साँझ विराटनगर लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, उमेर नपुगी प्रेमविवाह गरेका दुवैजनालाई आइतबार अभिभावकको जिम्मा लगाउने सहमति भएको थियो।
तर सोमबार केटी पक्षले विवाह गरिएकाले उनलाई घर भित्र्याउनुपर्छ भन्दै महतोको घरमा पुगेपछि विवाद बढेर झडप भएको हो।
स्थानीय १९ वर्षीय धीरज महतोले गत २१ साउनमा १८ वर्षीया सदा किशोरीलाई लिएर भागेपछि दुवै पक्षबीच पटक–पटक छलफल भएको थियो। १ भदौ (आइतबार) जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा उमेर नपुगेको कारण दुवैलाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको थियो।
तर सोमबार किशोरीसहित उनका आफन्त केटाको घरमा जिम्मा लिनुपर्छ भन्दै माग गर्न पुगेपछि झडप भएको थियो। किशोरी पक्षले चोहर्वा–सिराहा सडकको लक्ष्मीपुरखण्ड केही घण्टा अवरुद्ध गरेपछि स्थिति नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिराहा, गोलबजार र मिर्चैयाबाट थप प्रहरी परिचालन गरिएको थियो। प्रहरीले घटनास्थलबाट पाँच घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ र थप अनुसन्धान भइरहेको बताएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A