काठमाडौं, भदौ २७ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ गराउनु भएको हो।
शपथग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिनुभयो । यससँगै देशले पहिलोपटक महिला कार्यकारी नेतृत्व प्राप्त गरेको छ ।
कार्की यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी थिइन् । करिब आठ वर्षअघि न्यायपालिकाबाट अवकाश लिएपछि कार्यपालिकाको नेतृत्व गर्ने अवसर पाउँदा उनले अर्को कीर्तिमान कायम गरेकी हुन् ।
हालै सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका युवापुस्ताको आन्दोलनका क्रममा राजनीतिक अस्थिरता उत्पन्न भई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसलगत्तै राष्ट्रपति पौडेलले असामान्य परिस्थितिलाई दृष्टिगत गर्दै संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने कार्य अन्तरिम सरकारको मुख्य जिम्मेवारी हुनेछ ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्ने र आगामी निर्वाचनलाई निष्पक्ष तथा सफलतापूर्वक सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिने बताएकी छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A