इटहरी, असोज १३ गते । सवारी परीक्षण कार्यालय, इटहरीमा अनियमितता बढेको गुनासो बढेपछि संघीय सरकारले कार्यालय प्रमुख रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई पदमुक्त गर्दै मन्त्रालयमा तानेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार दुबैजनाको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। सेवाग्राहीसँग घुस असुल्ने, अनावश्यक दुःख दिने र राजस्वसमेत हिनामिना भएको आरोप लागेपछि मन्त्रालयले तत्काल कदम चालेको हो।
कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्व हिनामिना भएको प्रारम्भिक आशंका मन्त्रालय स्रोतले जनाएको छ। कार्यालयमा दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई बाटो इजाजतपत्र दिने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने र प्रदूषण परीक्षणजस्ता जिम्मेवारी रहँदै आएको छ।
यस कार्यालयविरुद्ध आएका उजुरी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसम्म पुगेका थिए। उजुरीमा प्रमाणसहित कर्मचारी संलग्नताको विवरणसमेत प्रस्तुत गरिएको बताइन्छ।
अनियमितताको छानबिन गर्न मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले छानबिन प्रतिवेदन पेश गरेपछि देव र बस्नेतविरुद्ध थप कारबाही गर्ने तयारी मन्त्रालयले गरेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A