फिरोज सिद्दिकी
लहान । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानमा मौलाएको माफिया राज, कर आतंक र अपारदर्शी अभ्यासका कारण स्थानीय व्यापारीहरू समस्यामा परेको अध्यक्ष पदका उम्मेदवार श्याम गुप्ताले बताएका छन्।
यही पौष ५ गते हुन गइरहेको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानको निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार गुप्ताले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
लहानको व्यापारिक वातावरण कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुप्ताले पुरानो राजनीति र भ्रष्टाचारको चक्रबाट संघलाई मुक्त गराउन व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। 'व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र व्यवसायी हितका लागि मैले उम्मेदवारी दिएको हुँ,' उनले स्पष्ट पारे।
पत्रकार सम्मेलनमा गुप्ताले संघलाई थप सशक्त, पारदर्शी र व्यवसायमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। लहानको व्यापार निरन्तर कमजोर बन्दै गएको उल्लेख गर्दै त्यसको पुनर्जीवनका लागि ठोस योजना र व्यवसायीबीच सामूहिक प्रयास आवश्यक रहेको बताए।
उनले व्यवसायीहरूले भोग्दै आएको माफिया राज, कर आतंक, प्रशासनिक झन्झट र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्न आफू दृढ संकल्पित रहेको जिकिर गरे। सीमावर्ती बजारसँग बढ्दो प्रतिस्पर्धा, मूल्य समायोजनको समस्या तथा स्थानीय व्यापारीका वास्तविक समस्यालाई प्राथमिकतामा राखेर समाधान खोजिने उनको भनाइ थियो।
अध्यक्ष बनेमा व्यापार प्रवर्द्धन, उद्यमीहरूको संरक्षण, युवालाई व्यवसायतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तथा सरकारी निकायहरूसँग प्रभावकारी समन्वय गर्ने गुप्ताले बताए। साथै, संघलाई सबै व्यवसायीको पहुँचमा रहने सहकार्यशील संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता रहेको छ।
पत्रकारहरूको जिज्ञासामा उनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थका लागि नभई समग्र व्यवसायी हितका लागि रहेको दाबी गर्दै पुरानो राजनीति, गुटबन्दी र भ्रष्टाचारको चक्र तोड्न व्यवसायीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। 'तपाईंहरूको सहयोग र विश्वास नै मेरो शक्ति हो,' उनले भने।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानको निर्वाचनलाई लहानको भावी व्यापारिक दिशासँग जोडेर हेरिँदै आएको छ। यस्तो अवस्थामा अध्यक्ष पदका उम्मेदवार श्याम गुप्ताले सार्वजनिक गरेका धारणा र प्रतिबद्धताले व्यवसायी वृत्तमा चासो बढाएको देखिन्छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A