फिरोज सिद्दिकी
सिराहा, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिराहाले सर्लाहीको मलंगवामा कार्यरत एक सब–इन्जिनियरमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको हो।
जिल्ला कमिटी सिराहाका अध्यक्ष अशोक कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मिति २०८२ फागुन ३ गते आइतबार भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाही मा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि अज्ञात व्यक्तिले दिनदहाडै गोली प्रहार गरी हत्या गरेको समाचारले पार्टी स्तब्ध भएको उल्लेख गरिएको छ। राष्ट्रसेवक कर्मचारीमाथि सार्वजनिक स्थलमै भएको यस्तो जघन्य अपराधले समग्र समाज र राज्य संयन्त्रको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा जनाइएको छ।
एमाले सिराहाले घटनाको सत्यतथ्य अनुसन्धान तथा छानबिन गरी अपराधमा संलग्न जोकोहीलाई कानुन बमोजिम कडा कारबाही गर्न नेपाल सरकारसमक्ष माग गरेको छ। शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्य संवेदनशील र सक्रिय हुनुपर्ने उल्लेख गर्दै पार्टीले दोषी पहिचान र पक्राउ प्रक्रियालाई तीव्र बनाउन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ कि विकास निर्माणका काममा संलग्न प्राविधिक कर्मचारीमाथि आक्रमण हुनु अत्यन्त दुःखद र निन्दनीय कार्य हो। यसले कर्मचारीको मनोबल गिराउने मात्र नभई विकास निर्माणका काममा समेत नकारात्मक असर पार्ने पार्टीको ठहर छ। यस्ता घटनाले सुशासन, विधिको शासन र सुरक्षित कार्य वातावरणप्रति चुनौती सिर्जना गर्ने भएकाले राज्यले कडा सन्देश दिनुपर्ने एमालेको भनाइ छ।
पार्टीले स्वर्गीय प्रमोद यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित हार्दिक समवेदना व्यक्त गरिएको छ।
एमाले सिराहाले यस प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न राज्यका सुरक्षा निकायलाई थप प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। सार्वजनिक पदमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै पार्टीले आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन ठोस कदम चाल्न माग गरेको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A