फिरोज सिद्दिकी
लहान, सिराहा । इस्लाम धर्मावलम्बीहरूले पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मदिनको सम्झनामा मनाउने ईद मिलादुन्नबी अर्थात् १२ रबीउल अव्वल आज सिराहाको लहानमा श्रद्धा र उत्साहका साथ मनाएका छन्।
ईद मिलादुन्नबीका अवसरमा लहानमा हजारौँको संख्यामा मुस्लिम समुदायका मानिसहरू सहभागी हुँदै धार्मिक र्याली निकालेका हुन्। लहान मुस्लिम समाज तथा युथ मुस्लिम वेल्फेयर सोसाइटी नेपालको आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो।
र्यालीमा सहभागीहरूले ‘नारे तकबिर–अल्लाहु अकबर’, ‘नारे रिसालत–या रसुलल्लाह’, ‘आकाकी आमद–मरहबा’ लगायतका धार्मिक नाराहरू लगाउँदै पैगम्बर मुहम्मद ﷺ प्रति श्रद्धा व्यक्त गरेका थिए। सहभागीहरू नेपाली झन्डा र इस्लामिक झण्डा तथा ब्यानरसहित र्यालीमा सहभागी भएका थिए।
१२ रबीउल अव्वललाई मुस्लिम समुदायले पैगम्बर हजरत मुहम्मद ﷺ को यौमे पैदाइश अर्थात् जन्मदिवसका रूपमा स्मरण गर्ने गर्छन्। यस वर्ष समुदायले उहाँको १५०१औँ जन्मोत्सव मनाएको आयोजकहरूले बताएका छन्।
ईद मिलादुन्नबीका अवसरमा मुस्लिम समुदायले मस्जिद तथा घरमा विशेष इबादत, नातख्वानी, धार्मिक सभा तथा विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छन्। यस्ता कार्यक्रममार्फत अमन, प्रेम, भाइचारा, सहिष्णुता र मानवताको सन्देश प्रवाह गर्ने गरिएको छ।
लहानमा आयोजित र्यालीका क्रममा सहभागीहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण रूपमा नगर परिक्रमा गरेका थिए।
पछिल्लो समयको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै र्याली तथा कार्यक्रमस्थलमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्थापनका लागि विभिन्न स्थानमा सुरक्षाकर्मी खटाइएको थियो।
आयोजक संस्थाका अनुसार ईद मिलादुन्नबीको मुख्य उद्देश्य पैगम्बर मुहम्मद ﷺ को जीवन, शिक्षा र मानवतामुखी सन्देशलाई स्मरण गर्दै समाजमा शान्ति, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्नु हो।



सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A