जीवछ उदासी
लहान,भदौ १४ गते
लहान नगरपालिका वडा नम्वर १ मिलन चोकमा नहरको किनारमा बस्दै आइरहेको २५ वर्षिय सन्तोष सदाय क्षयरोगले मृत्यु भएपछि परिवार विचल्लीमा परेको छ ।
क्षयरोग छिट्फुट देखिने भनिएपनि यस बस्तीमा क्षयरोगले मृत्यु हुनेहरुको संख्या निकै रहेको स्थानीयहरुले बताएका छन् । क्षय रोग लागेपछि नियमित औषधि खान छाडेर मदिरा सेवन नियमित गर्ने कारणले मृत्यु भइरहेको छ ।
ट्याक्टरको चालक सन्तोष सदायलाई क्षयरोग लागेर मृत्यु भएको उहाँकी पत्नी रुपा देवी सदस्यले बताउनुभयो । गरीवी जीवन काम नगरी के खाने ? दुईवटा बालबच्चालाई कसरी पाल्ने ? नियमित क्षयरोगको औषधि नखाएको र मदिरा खान नछाडेको कारण पति सन्तोषको मृत्युभयो,उहाँले आसु झार्दै सुनाउनुभयो,’ एउटा ६ वर्षिय छोरा ८ वर्षिय छोरीलाई कसरी पाल्ने बिचच्लीमा पर्यौ ।’
मृत्यु भएपछि दाह संस्कारको लागि दाउरा पाँच हजार नगद दाल चावल नगरपालिकाले सहयोग गर्दै आइरहेको स्थानीय महिलाहरुले बताउनुभयो । ‘नगरपालिकाले मृत्युपछि राहत दिनुभन्दा मदिराको कारण बस्तीमा वीस वर्षदेखि चालिस वर्षसम्मका युवाहरु मृत्युको मुखमा परिरहेकोले मदिरा नियणत्रणको लागि गरिएको आग्रहको कुनै सुनुवाइ भएन,’ स्थानीय महिलाहरुले पीडा पोख्नुभयो । लहान नगरपालिका १ र २ का यस मुसहर समुदायको बस्तीमा २०८२ को शितलहरीमा नौ जना युवाको मदिरा सेवन गरेर नै मृत्यु भएको थियो ।
दलित अभियानकर्मी मनोज पासवान भन्नुहुन्छ,’ मुसहर समुदाय ९९ प्रतिशत सुकुम्वासी छन् । दिन कमाउँछन् रात खान्छ तर कमाएको आधाभन्दा बढी रकम मदिरामा नै खर्चिन्छ । मुसहर समुदायको बस्तीमा मदिरा बेचेर अन्य जाति लखभति भए तर मुसहर समुदायको युवाहरु अल्प आयुमा नै मृत्युवरण गर्नु परिरहेको छ । मुसहर समुदायको बस्तीमा अवैद्य उत्पादन गरिने मदिरा रोक्नको लागि न स्थानीय सरकार म प्रहरी प्रशासनको चासो छ ।’
जिल्ला जनस्वास्थ्य प्रमुख युगल किशोर यादवका अनुसार सिरहा जिल्लामा स्वास्थ्य चौकीबाट नै नि:शुल्क क्षयरोगको औषधि सात सय विरामीहरुलाई वितरण भइरहेको छ । नियमित औषधि खाने विरामी निको भइरहेको छ । एचआइ भि लागेका बाहेक ९० प्रतिशत बिरामी निको भएको छ । तर औषधि छाडेर मदिरा सेवन गर्ने चेतनाको आभाव मुसहर समुदायको बस्तीमा देखिएको छ ।
मदिरा सेवन गराएर नै चुनाव जित्ने मधेश प्रदेशमा मदिरा बन्द गर्न कुनैपनि राजनीतिक दल,जनप्रतिनिधि र स्वार्थ पुरा गर्ने संघ संस्थाहरुले अवैद्य मदिरा रोक्न प्रयास नगरेको अर्का दलित अभियन्ता नैनीलाल रामले बताउनुभयो । उहाँ भन्नुहुन्छ,’खास गरेर दलित वस्तीमा प्रयोग भइरहेको अवैद्य मदिरा रोक्न आवश्यक छ ।’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A