सिरहा, मंसिर ९ गते । सिरहाको प्रतिनिधिसभा क्षेत्र नम्बर-३ को अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्ज एवं पूर्वकानूनमन्त्री लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठले उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विश्वनाथ साहलाई १ हजार १ सय ८२ मतले पराजित गरेका हुन् । श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी साहले २६ हजार ८ सय ८२ मत पाएका छन् ।
साहपछि क्षेत्र नम्बर ३ मा जनमत पार्टीका उम्मेदवार दिनेश कुमार यादव तेस्रो स्थानमा छन् । उनले ११ हजार १ सय ४६ मत पाएका छन् ।
श्रेष्ठ यसअघिको २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीको विश्वासिलो पात्र मानिने श्रेष्ठले निर्वाचित भएपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा श्रेष्ठसँग २१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । सिरहामा अब प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ को गणनाको अन्तिम परिणाममात्र आउन बाँकी रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A