प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन कति सहज ? यस्तो छ अंकगणित

  • साउन ४, २०८१
  • समृद्धिपथ
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने दिन नजिकिँदो छ । संविधानको धारा ७६ (२) अनुसार गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिँदै छन् ।

संविधानतः प्रधानमन्त्रीले पदमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संघीय संसद सचिवालयमा पत्राचार गरिसकेका छन् ।

विश्वासको मत पाउन कति सहज ?
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई आफ्नो दल नेकपा (एमाले) र सत्ता साझेदार दल कांग्रेसका सांसदको मत नै सामान्य बहुमतका लागि पर्याप्त छ ।

अहिले सबैभन्दा ठूलो दल कांग्रेससँग ८८ र दोस्रो ठूलो दल एमालेसँग ७९ सांसद छन् । तर, एमालेबाट देवराज घिमिरे सभामुख छन् र एक जना सांसद निलम्बित रहेकाले उनीहरूले विश्वासको मत दिन मिल्दैन ।

ओलीलाई सरकारमा सहभागी एमाले, कांग्रेस, जनता सामाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहित अन्य साना पार्टीले पनि विश्वासको मत दिने भएका छन् । हालसम्म विश्वासको मतको पक्षमा १८५ सांसद देखिएका छन् ।

अशोक राई नेतृत्वको जसपाका सात र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार सांसद छन् ।

त्यस्तै सरकारमा सहभागी नभए पनि उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालले पनि विश्वासको मत दिने भएको छ । जसपा, नेपालका पाँच सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जनाएको छ । उसका चार सांसद छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत दिने वा नदिने तय भएको छैन । राप्रपाका १४ सांसद छन् ।

अहिले सरकारको विपक्षमा रहेका चार दलका ६४ सांसद छन् । नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, नेकपा (एकीकृत समाजवादी) का १० र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

नेपाल मजदुर किसान पार्टी र आम जनता पार्टीका एक-एक सांसद छन् । दुवै पार्टीले सरकारलाई विश्वासको दिने वा नदिने सम्बन्धमा कुनै निर्णय गरेका छैनन् । त्यस्तै दुई जना स्वतन्त्र सांसद छन् ।

विश्वासको मत लिन किन हतार ?
नियुक्त भएको ३० दिनसम्ममा विश्वासको मत लिन सकिने भए पनि ओलीले हप्ता दिनभित्रै विश्वासको मत लिन लागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका थिए । उनलाई विस्थापित गरेर सत्तामा आएका ओली पनि संविधानको सोही व्यवस्थाअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् । सरकार गठनमा एक पटक प्रयोग भइसकेको व्यवस्था फेरि प्रयोग गर्न नमिल्ने कतिपयको तर्क छ ।

ओलीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ । उनको नियुक्ति संविधानविपरीत भएको जिकिरसहित ७६ (३) अनुसार अर्को सरकार गठन हुनुपर्ने माग गरिएको रिटको पेसी उनले विश्वासको मत लिने दिन (आइतबार) नै तोकिएको छ ।

यस्तोमा आफूलाई कुनै प्रतिकूलता र अदालतबाट धारा ७६ (३) अनुसार सरकार गठनको आदेश आउन सक्ने सम्भावनालाई हेरेर ओलीले विश्वासको मत लिन हतार गरेको देखिन्छ । धारा ७६ (३) अनुसार सरकार गठन हुने अवस्था आए संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री बन्ने छन् ।

पर्दाफासबाट

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A