सिहरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गर्दै भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनको तयारीमा रहेको बताएका छन्। सिरहाको मिर्चैया नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रचण्डले मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको औंल्याउँदै यसको विरुद्ध जनतालाई साथ लिएर व्यापक आन्दोलन गर्ने योजना अघि सारेका हुन्।
मधेश प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सिरहा पुगेका अध्यक्ष प्रचण्डले हालको राजनीतिक अवस्थालाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको लडाइँले सरकारमा अस्थिरता ल्याउने घटनालाई स्मरण गरे। उनले भने, “हामीले सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचारविरोधी अभियान सुरु गरेका थियौं, जसले भूमाफियाहरुलाई आतङ्कित बनायो। सरकारी जग्गा व्यक्तिका नाममा लैजाने काम गर्ने भूमाफियाहरु हाम्रो कदमबाट डराए।“
प्रचण्डले मिटरब्याज लगायतका विभिन्न बेथितिहरुविरुद्ध सरकारमा रहँदा संघर्ष थालिएको उल्लेख गर्दै त्यसबाट दलाल, सामन्तवादका अवशेष, भूमाफिया र भ्रष्टाचारीहरु आतंकित भएको बताए। उनले थपे, “माओवादी केन्द्रका नेताहरुको भ्रष्टाचारविरुद्धको कदमले हामीलाई समाप्त पार्ने डरले भ्रष्टाचारीहरु एकजुट भए।“
उनले कांग्रेस र एमालेका केही नेताहरुलाई भ्रष्टाचारको समर्थकको रुपमा औंल्याउँदै, आफूहरुले सरकारमा रहँदा भ्रष्टाचारविरुद्धको संघर्षलाई निरन्तरता दिएको र बिजेता कमाण्डरको रूपमा अघि बढेको दाबी गरे। प्रचण्डले देशव्यापी आन्दोलनको घोषणा गर्दै, जनतालाई साथमा लिएर भ्रष्टाचार र माफियाविरुद्धको संघर्षलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A