फिरोज सिद्दिकी
लहान । लहान नगरपालिकामा रहेको नहर संचालनमा नआउँदा किसानहरु आन्दोलित भएका छन्। लहान नगर प्रमुख महेश चौधरीले सिंचाइको लागि निर्माण गरिएको नहरलाई ढलमा परिणत गरेपछि किसानहरु आक्रोशित भएका हुन्।
खुट्टी खोला सिंचाइसँग सम्बन्धित किसानहरुको भेलाले आज संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। मुख्य बाली धान र गहुँको सिंचाइ अभावका कारण किसानहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य भएका छन्।
लहानका किसानहरूका अगुवा नेता सत्यनारायण यादवका अनुसार, खेतबारीमा सिंचाईको लागि निर्माण गरिएको नहरलाई प्रभावकारी रूपमा प्रयोग नगरेर नगरपालिकाले किसानमारा निणर्यहरू गरिरहेको छ। मुख्यतः धान र गहुँको खेतीमा सिंचाईको अभावले समस्या निम्त्याएको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका छन्।
उनले भने- खुट्टी खोलाको बाँध! सिंचाइको लागी प्रयाप्त पानी छ। तर लाहानको मेयरले सुख्खा नदी हो भनेर नहर बन्द गरेर ढल बनाइ बलान नदिमा खसाल्नका लागी ६ करोडको ठेक्का दिएको छ। यो निणर्य लहानबासीका लागि दुर्भाग्य हो।
यता, लहान नगर प्रमुख चौधरीले नगरको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै समस्या समाधानको लागि आफू गम्भीर रहेको बताए। “सबैले सकारात्मक पहल गरिदिनुपर्छ,“ उनले भने।
किसानहरूको यो आन्दोलनले लहान क्षेत्रमा सिंचाई व्यवस्थापन र नगरपालिकाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A