फिरोज सिद्दिकी
लहान । अखिल नेपाल किसान महासंघ, लहानले लहान नगरपालिकाका प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र बुझाउँदै किसानहरुको समस्याका विषयमा तत्काल ध्यान दिन माग गरेको छ।
महासंघले नगरपालिकाले कृषि विकास र पशुपालनका योजनामा उपेक्षा गरेको भन्दै सात दिनभित्र माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।
महासंघले ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, पछिल्लो कार्यकालका महत्वपूणर् योजनाहरूलाई बेवास्ता गरिँदै जनहितका योजना स्थगित गर्ने वा असफल बनाउन खोजिएको आरोप लगाइएको छ। विशेषगरी, लहान नगरपालिकामा किसानहरूको प्रत्यक्ष हितका लागि निर्माण सम्पन्न भएको खुट्टी नहरलाई ढलमा परिणत गरेर बलान नदीमा खसाल्ने कार्यप्रति महासंघले कडा आपत्ति जनाएका छन्। यसले लहान नगरपालिकाका विभिन्न वडाहरूका किसानहरूलाई सिंचाई सुविधा दिन नसकेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।
महासंघले विशेष गरी पूर्व मेयर मुनि साहले संचालन गरेका जनहितका ठूला योजनाहरुलाई स्थगित गराउने वा असफल बनाउन खोजिएको आरोप लगाएको छ। यसले गर्दा पुरानो कार्यकालका योजनाहरु अवरुद्ध हुँदा आमजनता पीडित भएको महासंघको भनाइ छ।

ज्ञापन पत्रमा खुट्टी नहरलाई डम्पिङ साइटमा परिणत गर्ने कार्यप्रति आपत्ति जनाइएको छ। उक्त नहरले लहान नगरपालिका अन्तर्गतका वडाहरु २, ३, ११, १२, १५, २०, २१, २२, र २३ का किसानहरुको खेतमा पानी पुर्याउनु पर्नेमा नहरलाई ढल बनाएर बलान नदीमा खसालिएको भन्दै महासंघले गम्भीर खेद प्रकट गरेको छ।
साथै, कृषि मिटर दर्ता, किसान परिचय पत्र वितरण, मलखाद्य र बीउ विजनमा किसानहरुलाई सहुलियत दिने योजनाहरु पनि रोकिएको भन्दै महासंघले तत्काल यस्ता कार्यहरु सुचारु गर्न माग गरेको छ।
ज्ञापनपत्रमा थप उठाइएका मागहरुमा निशुल्क विद्युतका लागि बाँकी रहेका कृषि मिटरहरूको दर्ता तुरुन्तै सञ्चालन गर्न, रोकिएको किसान परिचयपत्र वितरण पुनः थाल्न, मलखाद्य वितरणमा भेदभाव नगरी सहजरूपमा सबै किसानलाई उपलब्ध गराउन, तथा कृषि र पशुपालन क्षेत्रमा नगर बजेटको कम्तीमा १० प्रतिशत रकम छुट्याउन समावेश छ।
महासंघले नगरपालिका प्रमुखलाई ७ दिनको अल्टिमेटम दिँदै यथाशीघ्र सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। किसानहरुको हक हितलाई बेवास्ता गर्दा नगरवासीहरुलाई प्रत्यक्ष मार परेको भन्दै आन्दोलन गर्ने अवस्था सृजना भए त्यसको सम्पूणर् जिम्मेवारी नगरपालिकामाथि जाने महासंघले जनाएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा अखिल नेपाल किसान महासंघ नगर समिति लहानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A