फिरोज सिद्दिकी
लहान, माघ १० गते । लहान नगरपालिकाद्वारा वार्ताका लागि गरिएको आह्वान एक नाटक मात्र रहेको खुट्टी नहर संघर्ष समितिका संयोजक धर्मराज चौधरीले बताएका छन्।
शनिबार प्रेस विज्ञप्ति मार्फत नगरपालिकाले वार्ताका लागि आह्वान गरिरहेको भए पनि वास्तविक रूपमा वार्ताको वातावरण नबनाएको आरोप संघर्ष समितिले लगाएका हुन्।
मेयर महेश चौधरीले हालै प्रेस विज्ञप्ति जारी गर्दै संघर्षरत पक्षलाई वार्ताका लागि आग्रह गरेका थिए। तर, संयोजक धर्मराज चौधरीले उक्त आह्वानलाई ‘झुटो आश्वासन’ भन्दै नगरपालिकामाथि गम्भीर आरोप लगाए। उनका अनुसार, मेयर चौधरी पटकपटक वार्ताका नाममा केवल आश्वासन बाँड्ने, तर कुनै ठोस कदम नचाल्ने प्रवृत्तिमा रहेको देखिन्छ।
संयोजक चौधरीले नगरपालिकाले पटक–पटक झूटा आश्वासन दिएको र वार्ताका लागि बोलाएर पछि बेवास्ता गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै भने, “वार्ताका लागि बोलाउने, तर त्यसपछि विदेश भ्रमणमा जाने, वार्ताका नाममा झुठा आश्वासन बाँड्ने काम मात्र भइरहेको छ। वार्तावार्ता गरेर केही हुँदैन, पहिले होम पाइप हटाउने हाम्रो माग पूरा गर्नुपर्छ।”
नगरपालिकाले अघि बढाएको नहरलाई ढलमा परिणत गर्ने परियोजना किसानहरूको परम्परागत सिंचाई प्रणालीमा बाधा पुर्याउने भन्दै संघर्ष समिति लामो समयदेखि विरोधमा छ। उनीहरूको आरोप छ कि नगरपालिकाले जनताको सहमति र आवश्यक परामर्श विना जबरजस्ती आयोजना अघि बढाइरहेको छ, जसले स्थानीय कृषिमा गम्भीर असर पार्नेछ।
खुट्टी नहर वर्षायाम बाहेक सुक्खा हुने भएकाले यसको उचित व्यवस्थापन गर्नु आवश्यक भए पनि नगरपालिकाले यसलाई ढल व्यवस्थापनका रूपमा प्रयोग गर्न खोजेको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ। यसबारे उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा समेत दायर भइसकेको छ, तर नगरपालिकाले अदालतको आदेशको अपव्याख्या गर्दै आयोजनालाई अघि बढाउने संकेत देखाएको किसानहरूको भनाइ छ।
संयोजक चौधरीले मेयर महेश चौधरीलाई "फटाहा मेयर" को संज्ञा दिँदै भने, “वार्ताको वातावरण नबनाउने अनि वार्ताका लागि बोलाउने, यो कस्तो नीति हो? हाम्रो प्रमुख माग पूरा नगरेसम्म वार्ताको कुनै अर्थ छैन।”
संघर्ष समितिले नगरपालिकालाई किसानहरूको जायज माग स्वीकार्न र विकासका नाममा कृषि जीवनशैली ध्वस्त पार्ने काम नगर्न चेतावनी दिएको छ। उनीहरूले कानूनी प्रक्रियालाई बाधा पारेर जबरजस्ती आयोजना अघि बढाउनु लोकतान्त्रिक शासन प्रणालीको मर्म विपरीत रहेको बताउँदै, यदि नगरपालिका वार्ताका लागि गम्भीर भए, पहिले होम पाइप हटाउनुपर्ने स्पष्ट पारेका छन्।
नगरपालिकाले भने किसानहरूको मागप्रति संवेदनशील रहेको र अदालतको फैसलापछि उचित निर्णय लिइने बताएको छ। तर, संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिँदै वार्ताका लागि पूर्वशर्त पूरा नगरेसम्म कुनै छलफल नहुने अडान दोहोर्याएको छ। किसान संघर्ष समितिले आइतबार ११ बजे विरोध र्याली निकाल्ने जनाइएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A