फिरोज सिद्दिकी
लहान, माघ १३ गते। लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीद्वारा पुनः वार्ता र संवादको आव्हान केवल कर्मकाण्डी प्रक्रिया मात्र भएको संघर्ष समितिले आरोप लगाएको छ।
मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी खोला सिँचाइ नहर संघर्ष समितिले नगर प्रमुखको वार्ता गर्ने शैलीप्रति गम्भीर असहमति जनाउँदै यस्तो बताएको हो।
संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा नगर प्रमुखले वार्तालाई कर्मकाण्डी रूपमा प्रयोग गर्दै बारम्बार सहमति तोड्ने गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पछिल्ला सात महिनामा आठौँ पटक वार्ताको प्रस्ताव आएको छ। तर यसअघि भएका वार्ताहरू निष्कर्षविहीन बनाएको तथा सहमति कार्यान्वयन नगरेको आरोप लगाइएको छ। दुई महिनाअघि प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिहरू तथा विज्ञ टोलीको सहभागितामा सहमति गर्ने भनिए पनि त्यसको कार्यान्वयन नगर प्रमुखबाहेक अरू कसैलाई जानकारी नभएको समितिको भनाइ छ।
संघर्ष समितिले नगर प्रमुखले वार्ताको नाममा समय बिताउँदै अन्यत्र ध्यान मोड्ने प्रयास गरेको आरोप लगाउँदै उनीभन्दा उच्च तहको मध्यस्थकर्ताको उपस्थितिमा मात्र वार्तामा बस्ने स्पष्ट पारेको छ। नगर प्रमुखको संयोजकत्वमा हुने वार्तामा सहभागी नहुने घोषणा गर्दै समितिले सम्बन्धित सबैलाई यसबारे जानकारी गराएको छ।
समितिले अब नगर प्रमुखको संयोजकत्वमा हुने वार्तामा नबस्ने स्पष्ट पार्दै, नगर प्रमुखभन्दा उच्च तहको मध्यस्थकर्ताको उपस्थितिमा मात्र वार्ता, संवाद र सहमति कार्यान्वयन सुनिश्चित हुने बताएको छ।
यसैबीच, नेकपा (एमाले) लहानका अध्यक्ष राजकुमार साहले पनि नगर प्रमुख चौधरीमाथि कटाक्ष गरेका छन्। उनले चौधरीले गोवामा रमाइलो गर्नका लागि बाह्य शक्तिहरूसँग साँठगाँठ गरेको आरोप लगाउँदै, वार्तालाई नाटकको संज्ञा दिएका छन्। साहका अनुसार, नगर प्रमुखले जनताका समस्यालाई गम्भीर रूपमा नलिई व्यक्तिगत लाभका लागि मात्र वार्ता आव्हान गर्दै आएको छ।
खुट्टी खोला सिँचाइ नहर संघर्ष समितिले नगरपालिकाको आगामी कदमबारे चनाखो रहन सबै सरोकारवालालाई आग्रह गर्दै, अबको आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A