काठमाडौं, चैत १६ । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार, व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराध अन्तर्गत घटनाको छानबिन भइरहेको छ।
शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलापबारे गम्भीर छलफल भएको थियो। त्यसपछि शनिबार बिहानैदेखि प्रहरीले प्रमाण संकलनको कार्य अघि बढाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनप्रति सरकारको कुनै आपत्ति नरहेको तर तोडफोड, आगजनी, लुटपाट र ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको कडा अनुसन्धान गर्न निर्देशन दिएका छन्।
एक मन्त्रीका अनुसार, घटनामा संलग्न प्रदर्शनकारीहरू संगठित रूपमा आक्रमणमा उत्रिएको निष्कर्ष निकालिएको छ। सुरक्षाकर्मीमाथि ज्यान मार्ने उद्देश्यले गाडी चलाइएको र पत्रकारको घरभित्रै आगजनी भएको प्रमाण फेला परेपछि गम्भीर अनुसन्धान अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार, महान्यायाधीवक्ता कार्यालयसँग समन्वय गर्दै कानुनी प्रक्रिया अघि बढाइएको छ। तीन फरक प्रकृतिका घटनाहरू – ज्यान मार्ने प्रयास, आगजनी र तोडफोडलाई छुट्टाछुट्टै अनुसन्धान गरिने बताइएको छ।
प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले यो घटनालाई सामान्य विरोध प्रदर्शन नभई संगठित आपराधिक गतिविधिको रूपमा लिइएको बताएका छन्। राज्यको फौजदारी न्याय प्रणाली अनुसार दोषीहरूमाथि कडा अनुसन्धान र कारबाही गरिनेछ।
घटनाअघि राप्रपा नेता रवीन्द्र मिश्रले भड्काउने अभिव्यक्ति दिएको र दुर्गा प्रसाईले हाइलक्स गाडी चलाएर सुरक्षाकर्मीको घेरा तोडेको प्रमाणहरू सार्वजनिक भएका छन्। प्रहरीले उनीहरूका अभिव्यक्ति र गतिविधिहरूको पनि छानबिन गरिरहेको छ।
मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार, ज्यान मार्ने नियत देखिएमा दोषी प्रमाणित भएका व्यक्तिहरूलाई २५ वर्षसम्मको जन्मकैद हुन सक्नेछ।
पक्राउ परेका प्रदर्शनकारीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ। सोधपुछपछि घटनामा संलग्न नभएका व्यक्तिहरूलाई रिहा गर्ने तयारी भइरहेको छ।
सरकारले यस घटनालाई ‘राज्यविरुद्धको संगठित अपराध’ को रूपमा लिई अनुसन्धान गरिरहेको छ। दोषीहरूमाथि कडा कारबाही गरिने बताइएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A