जीवछ उदासी, चैत २० गते
लहान नगरपालिका देशकै सबैभन्दा बढी २४ वटा वडाहरु भएको नगरपालिका हो । एक लाखभन्दा बढी जनसंख्या रहेको यस नगरपालिकाको सांस्कृतिक राजनीतिक र धार्मिक क्षेत्र लोभ लाग्दो रहेको छ । यस नगरको विकासको लागि पूर्व नगरप्रमुख मुनि साहको कार्यकालमा हाम्रो लहान,समृद्ध लहानको नारा कार्यान्वयन गर्न अघि बढ्यो । वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीले नारालाई परिमार्जन गरी नारालाई केहि शब्दहरु थपेर लम्बे चौडे बनाउनुभयो । अर्थात फरक कार्यकाल फरक नारा हाम्रो लहान,सभ्य सुन्दर र सम्पन्न लहान राखियो । नाराको कार्यन्वयनको लागि एकल राजनीति दलीय सिण्डिकेटबाट संभव छैन । यसको लागि सहमति सहकार्य आवश्यक छ । र,हुनुपनि पर्छ । चुनावको बखत दलीय कुरा गरियो । चुनाव सकेपछि साझा र विकासको कुरा गरौ । अनुकूल माहोल बनाउन आवश्यक छ । नारा एकातिर काम अर्कोतिर कुनैपनि मानेमा उपयुक्त र उचित हुँदैन ।
वर्तमान नगरप्रमुख र उपप्रमुख स्थानीय चुनावमा फरक दलको गठबन्धनबाट निर्वाचित हुनु भएकोले प्रमुख उपप्रमुख एउटै लिङग पर्नुभयो । गठबन्धनबाट निर्वाचित भएकोले पाँच वर्ष एक भएर जाने चुनावी प्रतिवद्धता व्यक्त गर्नुभयो तर चुनावको परिणाम आए लगतै नगरप्रमुख महेश प्रसाद चौधरी ले गठबन्धन रहेन सार्वजानिक रुपमा घोषणा गर्नुभयो । त्यस्तो दम्भ हुनुको कारण एकल नेपाली काँग्रेसले २४ मध्ये १५ वटा वडा जित्नु देखियो । अपेक्षाभन्दा बढी जनमतले अहंकारको जन्म दिदो रहेछ । लहानमा यहि प्रमाणित भयो ।
लहान नगरउपप्रमुख रामचलितर महतो मधेश आन्दोलनबाट एक किसान परिवारबाट राजनीतिमा उदय हुनु भएको एक निर्भिक प्रष्टवक्ताको रुपमा उहाँको पहिचान रहेको छ । नगरपालिकाभित्र भइरहेको भेदभावपूर्ण व्यवहारलाई विरोध गर्दा उहाँसँग जुन व्यवहार भइरह्यो त्यो लोकतान्त्रिक पनि छैन र व्यवहारिक त कुनै पनि मानेमा छैन । दुई पटक उपप्रमुख महतोले प्रयोग गरिरहेको गाडी खोसियो । उपप्रमुख महतो प्रमुख चौधरीको हरेक कुरामा हस हजुर भनियो भने मात्रै सेवा सुविधा नसिव हुने विरोध गरियो भने सेवा सुविधा खोस्ने कार्यकक्षमा नै भौतिक प्रहार सम्मको घट्ना बाहिरिनुले लहानका सचेत नागरिकहरुलाई गम्भीर बनाइएको छ । के उपप्रमुख प्रमुखको जागीरे हो ? न्यायिक समितिको संयोजक अनुगमन समितिको संयोजक जस्तो संवैधानिक व्यवस्था स्थानीय तहको ऐनमा नै तोकिएको छ । पहिले जस्तो उप भनेको चुप होइन काम कर्तव्य तोकेर नै प्रष्ट रहेको छ भने प्रमुख र उपप्रमुखको बीच मालिक र दासको व्यवहार किन ?
पत्रकार सम्मेलन गरेर नै उपप्रमुखले सहि र सत्य उजागर गर्न खोज्दा प्रमुखबाट धम्की घेराबन्दी र उपलब्ध सेवा सुविधा खोस्ने जस्ता समस्या र चुनौती आउने गरेको बताउँदै आइरहनु भएको छ । उहाँले यस्तो बताएको केहि दिनपछि गाडी खोस्नु र मुद्दा लगाउन खोजेको र कार्यकक्षमा नै पानीको बोटलबाट प्रहार गरेको घट्नाले प्रमाणित गरेको छ । यहा प्रश्न उठ्छ जो न्यायिक समितिको संयोजक उहाँमाथि नै यस्तो व्यवहार भएपछि कसरी लहानको भौतिक विकास र सामाजिक न्यायको प्रत्याभूति होला ? गम्भीर प्रश्न खडा भएको छ । नगरप्रमुख नगरको मष्तिष्क हो भने उपप्रमुख पनि मष्तिष्क अडने घाँटी हो । उपप्रमुख माथि अपमान र उपेक्षा गर्ने व्यवहार कुनैपनि मानेमा उचित छैन् । यहाँ त स्मरणीय कुरा के छ भने नगरप्रमुख महेश प्रसाद चौधरीले चुनाव जिते लगतै भन्नु भएको थियो नगरपालिकाको गाडी चढदिन । आफ्नै नीजि गाडी प्रयोग गर्नेछु जुन प्रतिवद्धता एक महिनापनि टिकेन ।
अन्त्यमा नगरप्रमुख उपप्रमुखलाई स्थानीय ऐनले दिइएको काम कर्तब्य र अधिकारको प्रयोग गरी लहानको विकास र निकास,नगरवासीको चाहना र चुनावमा गरेको गठबन्धनको तर्फबाट गरिएका प्रतिवद्वता अनुसार विकासको गति अघि बढोस् । नगरप्रमुख र उपप्रमुखको शक्ति परीक्षणको लडाइ बन्द होस् । उपप्रमुख आवद्ध जसपा नेपालको अगुवाइमा सात दलको समर्थनमा गरिने आन्दोलन गर्न नपरोस् । सिमित स्वार्थसिद्धिको सल्लाहकार घेरा तोडेर नगरप्रमुख सबैको अभिभावकत्व भूमिका निर्वाह गरुन । दलीय स्वार्थभन्दा नगरको हक हितलाई महत्व दिउन ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A