काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेका दुर्गा प्रसाद प्रसाई र दिपक खड्का पक्राउ परेका छन्।
झापा जिल्लाको भद्रपुरबाट पक्राउ गरिएका यी दुई व्यक्तिमाथि काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ।
२०७८ सालको चैत १५ गते 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महा अभियान नेपाल'ले दुर्गा प्रसाद प्रसाईको नेतृत्वमा आयोजना गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। प्रहरीले जनाए अनुसार, सो प्रदर्शनमा सहभागी समर्थकहरुलाई उत्तेजित पार्दै निषेधित क्षेत्रमा प्रवेश गराई संघीय संसद भवन वरपरका क्षेत्रमा ढुंगा प्रहार, गाडी आक्रमण, सुरक्षाकर्मीमाथि हातहतियारसहित हमला, प्रहरीका हातहतियार खोस्ने, घर तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, अस्पताल, प्रहरी कार्यालय, नेपाल आयल निगमको इन्धन भण्डारण क्षेत्र, नागरिक उड्डयन कार्यालय तथा विमानस्थलको बाहिरी कम्पाउण्डसम्ममा आपराधिक हमला गरिएको थियो।
प्रहरीका अनुसार, यस सबै घटनामा संलग्न भई फरार रहेका प्रमुख योजनाकार प्रसाई र उनका सहयोगी खड्कालाई विशेष सुराकीका आधारमा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ. अपील राज बोहराले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A