काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनाको १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले मौनता तोडेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख प्रकट गरेका छन्।
भिडिओ सन्देशमार्फत शाहले भनेका छन्, "समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो।" तर, त्यही अभिव्यक्तिका क्रममा हिंसा, आगजनी र तोडफोडजस्ता गतिविधि हुनु दुःखद रहेको उनले बताएका छन्।
"केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिले हामीलाई दुःख लाग्यो," शाहको भनाइ छ।
पूर्वराजाले नागरिकमा बढ्दो जागरूकतालाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै भने, "नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो–नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ।"
शाहले नयाँ वर्ष २०८२ मा जनताको चाहनाअनुसारको परिणाम प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन्। उनले जनतामा देश र भविष्यप्रति देखिएको चासो र सक्रियतालाई स्वागतयोग्य बताउँदै, त्यसले मुलुकको दिशा परिवर्तन गर्न सक्ने संकेत पनि गरेको बताए।
नयाँ वर्षको सन्देशमार्फत उनले शान्ति, सहिष्णुता र संवादमार्फत देशलाई अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A