एजेन्सी
५ असर । ईरान र इजरायलबीच जारी युद्धले विश्वव्यापी तनाव बढाइरहेका बेला उत्तर कोरियाले इजरायललाई कडा शब्दमा आलोचना गरेको छ। उत्तर कोरियाले इजरायललाई 'मध्यपूर्वको शान्तिका लागि क्यान्सर' भन्दै उसको आक्रामक कार्यशैलीले विश्व शान्ति र सुरक्षामा खतरा उत्पन्न गराएको आरोप लगाएको हो।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका प्रवक्ताले इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणहरूलाई मानवताविरुद्धको अपराध भन्दै कडा निन्दा गरेका छन्। कोरियाली सरकारी समाचार एजेन्सी KCNA का अनुसार बिहीबार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै इजरायली सैन्य आक्रमणबाट इरानी नागरिक, ऊर्जा र परमाणु स्थलहरूमा भएको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनले भने, “नागरिकहरूको हत्या गर्नु अक्षम्य मानवीय अपराध हो। इजरायलले जुन आतंककारी शैली अपनाएको छ, त्यसले क्षेत्रीय युद्धको खतरा बढाइरहेको छ।” इजरायललाई उनले 'स्टेट स्पोन्सर अफ टेररिज्म' को संज्ञा दिए।
यसैबीच, उत्तर कोरियाले अमेरिका र युरोपेली मुलुकहरूलाई समेत चेतावनी दिँदै युद्धमा हस्तक्षेप नगर्न आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ताले भने, “आजको स्थितिले प्रमाणित गर्छ कि अमेरिका र पश्चिमी मुलुकहरूको समर्थनमा इजरायल मध्यपूर्वमा शान्तिका लागि घातक क्यान्सर बनेको छ। विश्व समुदायले यी शक्तिहरूको गतिविधिमा गहिरो नजर राखेको छ।”
यता, वॉल स्ट्रीट जर्नलका अनुसार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि आक्रमणको योजना तयार भइसकेको तर हाललाई रोकिएको जानकारी दिएका छन्। ट्रम्पले फोर्डोमा रहेको इरानको भूमिगत यूरेनियम संवर्धन केन्द्रलाई निशाना बनाउन सक्ने संकेत दिएका छन्। उनले ईरानलाई पूर्ण सरेंडरको माग राखेका छन्, जुन इरानले ठाडै अस्वीकार गरिसकेको छ। यसै क्रममा ट्रम्पले चेतावनी दिएका छन्, "म ईरानमाथि हमला गर्न सक्छु, नगर्न पनि सक्छु।"
उत्तर कोरियाले भने अमेरिकालाई इरानको आत्मरक्षा र सार्वभौमिक अधिकारको सम्मान गर्न आग्रह गर्दै, “अमेरिका र उसका सहयोगीहरूका कारण मध्यपूर्व विध्वंसको दिशामा उन्मुख भइरहेको छ,” चेतावनी दिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A