फिरोज सिद्दिकी
७ असार, लहान । लहान नगरपालिकाको १६औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षी दल नेकपा (एमाले) र सत्तारूढ गठबन्धनकै घटक नेकपा (माओवादी केन्द्र) ले कडा आलोचना गरेका छन्। उनीहरूले प्रस्तुत नीति तथा कार्यक्रमलाई 'कुशासनको निरन्तरता बोकेको कर्मकाण्डी दस्तावेज' को संज्ञा दिँदै त्यसको घोर विरोध गरेका हुन्।

नेकपा (एमाले) लहान नगर कमिटीका अध्यक्षद्वारा सार्वजनिक गरिएको वक्तव्यमा भनिएको छ, '१६औं नगरसभा २०८१ सम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र सेवा प्रवाह क्षेत्रमा देखिएका जनअविश्वास र नीतिगत समस्या तथा चुनौतीहरू समाधान गर्ने दिशामा कुनै उल्लेखनीय योजना देखिएको छैन।'
उक्त वक्तव्यमा लहान नगरपालिकामाथि गम्भीर आरोप लगाइएको छ। शिक्षा क्षेत्रलाई राजनीतिकरण गर्दै काँग्रेसको प्रभाव विस्तार, श्रीमती संगिताकाे नाममा नगरकाे साधन श्राेत दुरुपयोग राहत वितरण, राहत वितरणमा पक्षपात, आफन्तलाई ठेक्का र लेखा जिम्मेवारी दिई कमिसन संकलन, योजनाको लागत बढाएर अनियमितता गर्ने, खुट्टि नहरजस्ता महत्वपूर्ण कृषि पूर्वाधारको उपेक्षा, चिनियाँ कम्पनीहरूसँग अनैतिक सम्झौता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने नीति ल्याइएको आरोप लगाइएको छ।

उता नेकपा (माओवादी केन्द्र) लहान नगर अध्यक्ष हेमन्त कुमार यादवले पनि बजेट र कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै ती कार्यक्रम निमुखा किसानमाथि गरिएको घोर अन्याय भएको बताए। उनले भने, 'खुट्टि नहर जस्तो किसानको जीवन रेखा बन्न सक्ने सिँचाइ आयोजना उपेक्षित बनाइएको छ। विगतका कर्मकाण्डी बजेटको निरन्तरता दिइएको छ, यसलाई सच्याएर किसानमुखी र जनअपेक्षित कार्यक्रम ल्याउनुपर्छ।'
यादवले लहान नगरप्रमुख महेश चौधरीको कार्यशैलीप्रति पनि आक्रोश व्यक्त गर्दै भने, 'नगरसभाको उद्घाटनमा आफू निकट दल र व्यक्तिलाई मात्र निमन्त्रणा दिइयो, विपक्षी दल र राष्ट्रिय दलहरूलाई बेवास्ता गरियो। यस्ता काम लोकतन्त्रको न्यूनतम मापदण्डसम्म नबुझिएको प्रमाण हो।'
चौधरीमाथि चिट चोरेर पास भएको, आलोचना सहन नसक्ने, भजन मण्डलीमार्फत अनैतिक समर्थन खोज्ने जस्ता व्यक्तिगत आरोपसमेत लगाइएको छ।
विपक्षी दलहरूले नगरसभाको बन्द सत्रमा बजेट र नीति कार्यक्रम सच्याएर जनअपेक्षित योजना ल्याउन जोडदार माग गरेका छन्।
शुक्रबार लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट १६औँ नगरसभाबाट सार्वजनिक गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A