फिरोज सिद्दिकी
सिरहा, साउन १४ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाभित्र इलाका प्रहरी कार्यालयको ५०० मिटर वरिपरिको क्षेत्रमा एक साताको अवधिमा हत्या, हिंसा, आगजनी, लुटपाट लगायतका आधा दर्जन जति आपराधिक घटनाहरू भएपछि स्थानीयबासी त्रसित बनेका छन् । यस्तै घटनाहरू प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, सिरहाले गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति जनाएका हुन्।
एमाले जिल्ला कमिटीका अनुसार पछिल्लो समय धनगढीमाई क्षेत्रमा घटेका यस्ता जघन्य घटनाहरूले कानून–व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता घटनाहरू अत्यन्तै दुःखद, निन्दनीय र अस्वीकार्य छन्। प्रहरी प्रशासनको उदासिनता तथा गैरजिम्मेवारीपन नहट्ने हो भने आन्दोलनमा जानुपर्ने बाध्यता हुनेछ।'
क्रूरतापूर्वक हत्या
साउन १३ गते राति नेकपा एमालेका जिल्ला सदस्य कमलदेव यादवका पिता ७५ वर्षीय फनिलाल यादवको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरिएको थियो। उनी धनगढीमाई नगरपालिका–११ स्थित आम चौकमा सुतेको अवस्थामा मृत भेटिएका थिए।
एमालेले उक्त घटनालाई अमानवीय र सभ्य समाजमा कल्पना गर्न नसकिने भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
आगजनी र लुटपाटका घटना
यसअघि साउन ११ गते राति लवकुश बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको भवनमा अज्ञात समूहद्वारा आगजनी र लुटपाट गरिएको थियो। सो क्रममा संस्था तथा पद्मोदय फाउन्डेशनका कागजात र सामग्रीहरू जलेर नष्ट भएका थिए। सोही रात धनगढीमाई नगरप्रमुखद्वारा सञ्चालित शिशु ज्योति विद्यालयको बसमा पनि आगजनी गरिएको थियो।
प्रहरी प्रशासनप्रति प्रश्न
'अपराधीहरू खुलेआम हिंसा र आपराधिक गतिविधिमा उत्रिए पनि प्रहरी प्रशासन गम्भीर नहुनु अत्यन्त आपत्तिजनक र संकास्पद छ,' एमाले जिल्ला कमिटीले जनाएको छ। उजुरी र सूचना दिँदासमेत कारबाहीको साटो अपराधीलाई संरक्षण गरिएको भान हुने खालको गतिविधिले जनमानसमा प्रहरीप्रति विश्वास हराउँदै गएको समेत उल्लेख छ।
तीन सूत्रीय माग
घटनाहरूप्रति गम्भीर चासो जनाउँदै एमालेले तीनवटा प्रमुख माग राखेको छः
१. सबै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गरियोस्।
२. पीडित परिवारलाई शीघ्र न्याय दिलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाइयोस्।
३. प्रहरी प्रशासन अझै गम्भीर नभए पार्टी आन्दोलनमा जान बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी सरकार र प्रशासनको हुनेछ।
एमाले जिल्ला कमिटीले शान्ति, सद्भाव र कानूनको शासनका पक्षधर सम्पूर्ण नागरिक समाज, सञ्चारकर्मी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर यस्ता आपराधिक घटनाविरुद्ध आवाज उठाउन आग्रह गरेको छ। साथसाथै, पार्टीले स्थानीय बासिन्दालाई संयमित रहन र सामाजिक सौहार्द कायम राख्न अपील गरेको छ।
सिरहा जिल्लामा पछिल्लो समय बढ्दो हिंसा र आपराधिक गतिविधिले शान्ति, सुरक्षा र सुशासनप्रति गम्भीर प्रश्न उठाएका छन्। स्थायीत्व, विकास र जनताको सुरक्षा सुनिश्चित गर्न सबै तहका सरकारी निकायको तुरुन्त ध्यान केन्द्रित हुनु अत्यावश्यक देखिएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A