जेन–जी आन्दोलनको चपेटामा प्रधानमन्त्री ओलीले राजीनामा दिए

  • भदौ २५, २०८२
  • समृद्धिपथ
alt

काठमाडौँ । देशभरि चर्किँदो जेन–जी आन्दोलन अखेर प्रधानमन्त्री केपी शर्मा ओलीको पद गुम्ने कारण बनेको छ। मंगलबार दिउँसो करिब २ः३० बजे ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन्। उनले पत्रमा असामान्य परिस्थिति सिर्जना भएकाले समाधान संविधानमै खोजिनुपर्ने उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले राजीनामा स्वीकार गरेर अर्को प्रधानमन्त्री नआएसम्म ओलीलाई कार्यवाहक बनाइएका छन्।

ओली पद छाड्नुअघि नै सत्तारूढ गठबन्धन फाटिसकेको थियो। कांग्रेसका गृहमन्त्री रमेश लेखकले सोमबार राजीनामा दिए, मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुद मन्त्री तेजुलाल चौधरीले पनि साथ छाडे। जसपाबाट खानेपानी मन्त्री बनेका प्रदीप यादवले त ओलीभन्दा अघि नै राजीनामा दिएका थिए।

ओलीलाई राजीनामा गर्न दबाब दिनेमा कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा अगाडि थिए। सभापति शेरबहादुर देउवा भने मौन बसेका थिए, तर ओलीले देउवाको मौन सहमति पाएर साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए। तर परिस्थिति चर्किएपछि उनी बैठक बस्नै नपाई राजीनामा बुझाउन बाध्य भए।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पनि आन्दोलनको समर्थनमा पदत्याग गरेका छन्। उनले जेन–जी आन्दोलनमा युवाको ज्यान गएको घटनाले आफूलाई छोएको भन्दै पार्टी अध्यक्ष सीके राउतको निर्देशनमा राजीनामा बुझाए।

त्यति मात्र होइन, संघीय संसदमा रहेको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले पनि सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। संसद् मौन बसेर ओली सरकारलाई वैधानिकता दिन मात्र काम गरेको आरोप लगाउँदै दुबै दलले संसद्को औचित्य सकिएको ठहर गरेका हुन्। रास्वपाका २० सांसद (उपसभामुख इन्दिरा राना बाहेक) ले राजीनामा दिने निर्णय गरेका छन् भने राप्रपाका १४ संघीय र २८ प्रदेश सांसदले पदत्याग गर्ने जनाएका छन्।

राप्रपाको निर्णयसँगै बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले पनि राजीनामा दिएका छन्। विभिन्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू पनि आन्दोलनको पक्षमा राजीनामा गर्न थालेका छन्। कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले एमाले छाड्दै राजीनामा गरे भने घोराहीकी उपप्रमुख हुमा डीसी, बेलबारी नगरप्रमुख डीपी राई र कांग्रेसकी नितु थापाले पनि पदत्याग गरेका छन्।

यसैबीच बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। महासचिव पद्मप्रसाद पाण्डेयले “विशेष कारण” देखाउँदै सूचना जारी गरेका छन्।

देशभर फैलिएको जेन–जी आन्दोलनले अहिले राजनीतिक स्थिरतालाई धरापमा पारेको छ। प्रधानमन्त्रीदेखि मुख्यमन्त्री, सांसददेखि स्थानीय तहका जनप्रतिनिधिसम्मको सामूहिक राजीनामाले अब नेपालको राजनीति कुन दिशातर्फ मोडिन्छ भन्ने प्रश्न सबैका मुखमा छ।

 

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A