सिराहा । मधेशलगायत नेपालको तराई क्षेत्रका महिलाहरू आजदेखि तीन दिनसम्म मनाइने जितिया पर्वमा व्यस्त भएका छन्। मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी र अन्य समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा यस पर्वसँग जोडिएको छ।
धार्मिक मान्यता अनुसार जितिया पर्व वीर पुरुष जितमहानको स्मरणमा सुरु भएको हो। जितमहानले धर्मको रक्षा गर्न कठिन सङ्घर्ष र वीरता देखाएका थिए भन्ने विश्वासले महिलाहरूले ब्रत बस्ने चलन कायम राखेको हो। यस पर्वमा तीन दिनसम्म महिलाहरू निराहार र निर्जल व्रत बस्छन्, जसलाई अत्यन्त कठोर पर्व मानिन्छ।
पहिलो दिन ओठगनमा महिलाहरू नदी, पोखरी वा धारा किनारमा गएर स्नान गर्ने र विशेष परिकार बनाएर खाने गर्छन्। दोस्रो दिन, निर्जला उपवासमा, बिहानै स्नान गरेर दिनभरि एक थोपा पानी समेत नखाई व्रत बसिन्छ। साँझमा पूजा–अर्चना गरी कथा सुन्ने परम्परा छ। तेस्रो र अन्तिम दिन पारणमा व्रत समाप्त गरी बिहानै स्नान र पूजा गरेर परिकार बनाएर खाना खाने चलन छ।
सांस्कृतिक दृष्टिले जितिया पर्व परिवार र समुदायबीच आपसी प्रेम, विश्वास र सहकार्य बढाउने अवसर पनि हो। महिलाहरू एकै ठाउँमा भेला भई कथा सुन्ने, गीत गाउने र सामूहिक पूजा गर्ने चलनले सामाजिक एकता बलियो बनाउँछ।
धार्मिक विद्वान्हरूका अनुसार यो पर्व मातृत्वको प्रतीक हो। महिलाले आफ्ना सन्तानप्रतिको प्रेम र जिम्मेवारी यस अवसरमा प्रकट गर्छन्। राजा शालिवहानको शासनकालमा सात छोरालाई दैत्यले उठाउँदा महिलाले रानीको सम्झनामा ब्रत बस्न थालेको पौराणिक कथा यस पर्वसँग जोडिएको छ। मिथिला क्षेत्रमा पुत्र भएका महिलाहरूले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ।
मैथिली भाषाका प्राध्यापक उमेश कुमार झाका अनुसार भविष्य पुराणमा उल्लेखित शालिवाहन राजाका पुत्र जिमूतवाहनको रक्षा गर्न महिलाहरूले व्रत बस्न थालेका थिए। महादेवको कृपाले नियमनिष्ठाले व्रत बसेको खण्डमा सन्तान दीर्घायु हुने विश्वास प्रचलित छ।
पर्वमा सहभागी महिलाहरू ३६ घण्टासम्म निर्जल र निराहार व्रत बस्ने भएकाले यसलाई कठोर ब्रत मानिन्छ। मधेसी र थारु समुदायमा व्रत बस्नु अघि महिलाहरू माइती पुग्ने, दिदीबहिनी भेला भई सुख–दुख साट्ने चलन छ।
ब्रत बस्ने दिन बिहान नदी, खोला वा पोखरीमा नुहाउने र दिनभरि नाचगान गर्दै समय बिताउने परम्परा छ। सूर्य अस्ताउनुअघि पूजा र नुहाएर जितमहानको कथा सुन्ना सबै महिलाहरू गाउँको केन्द्रमा भेला हुन्छन्। दोस्रो दिन बिहानै उठेर बेलको पात गाँसेर धनुष बनाउने, मासको परिकार जाकुर बनाउने र पूजाका सामग्रीसहित खोलामा स्नान गर्ने चलन छ। घर फर्केपछि महिलाले परिकार खाँदै व्रत पूरा गर्छिन् र परिवारले पनि परिकार खाने चलन छ।
जितिया पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले मातृत्व, सन्तानको दीर्घायु र पारिवारिक समृद्धिको प्रतीक बनेको छ। यस पर्वले समुदायमा सामाजिक मेलमिलाप र आपसी सद्भाव कायम राख्ने महत्व पनि बोकेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A