काठमाडौँ । लुम्बिनी रोयल्सले एनपीएलको उपाधि जित्दै इतिहास रचेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ८५ रनमै समेट्दै लुम्बिनीले सहज जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमै ८५ रनमा अलआउट भयो। सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रूपमा चौथो न्यून स्कोर हुनुका साथै एनपीएल फाइनलको सबैभन्दा कम योगफल हो।
लुम्बिनीका बलरहरूको धारिलो प्रदर्शनले सुदूरपश्चिमको इनिङ्स तहसनहस बनायो। कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए। रोहित पौडेलले ११औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिकसमेत पूरा गरे। उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरे। रोहितले ४ ओभरमा मात्र १२ रन खर्चिए।
रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे। तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।
सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। ५१ बल खेलेका उनले एक चौका मात्र प्रहार गरे। चौथो विकेटका लागि उनले कप्तान दीपेन्द्रसँग २५ रनको साझेदारी गरेका थिए। दीपेन्द्रले २० बलमा १३ रन जोडे। हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन बनाए।
८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले आत्मविश्वासी सुरुवात गर्यो। कप्तान रोहित पौडेलले १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रनको योगदान दिए। निरोशन डिकवेला १२ बलमा अविजित ११ रनमा रहे। दिलिप नाथले विजयी रन जोड्दै लुम्बिनीलाई च्याम्पियन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्तले एकै ओभरमा दुई विकेट लिए। उनले पाँचौँ ओभरको पहिलो बलमा १३ रन बनाइसकेका ब्याटरलाई बोल्ड गरे भने सोही ओभरको तेस्रो बलमा दिनेशलाई स्कट कुगेलेइनबाट क्याचआउट गराए। तर कमजोर लक्ष्यका कारण सुदूरपश्चिम बलिङमा प्रभाव जमाउन असफल रह्यो।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A