सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरणमा परेका १७ वर्षीय अभिषेक महतो मृत फेला परेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान घरबाट करिब एक सय मिटर पूर्वस्थित आँपको बगैचामा उनको शव भेटिएको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याइएको अवस्थामा शव फेला परेको हो।
अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकमा हिँड्न गएका थिए। तर उनी घर फर्किएनन्। परिवारले रातभर खोजी गरे पनि नपाएपछि सोमबार बिहान प्रहरीले निवेदन दर्ता गरेको थियो।
सोमबार बिहानै अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलमा ‘इमो’मार्फत पाँच करोड रुपैयाँ फिरौती मागेका थिए। छोराको सकुशल उद्धारको आशामा सम्पूर्ण विवरण प्रहरीलाई बुझाए पनि प्रहरी निष्क्रिय रहेको आरोप मृतक परिवारले लगाएका छन्।
“समयमै सबै जानकारी दिए पनि प्रहरीको ढिलासुस्तीका कारण छोराले ज्यान गुमाउनु पर्यो,” अभिषेकका आफन्तले आक्रोश पोख्दै भने।
स्थानीयले समेत घटनालाई अपहरण हो भन्ने प्रमाण प्रष्ट हुँदाहुँदै प्रहरी पुष्टि गर्नमै समय खेर फालेको आरोप लगाएका छन्।
यता, प्रहरी निरीक्षक साहले भने, “घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ। यसमा संलग्नलाई पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याइन्छ।”
गोलबजारकै डंग्राहाका अभिषेक आफ्नै ट्याक्टर चलाउँदै आएका थिए। अपहरणपछि परिवारलाई इमोमार्फत फिरौती मागिएको यो घटनाले स्थानीय समुदायलाई त्रसित बनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A