भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार संविधानविपरीत बनेको दाबी गर्दै तत्काल संसद् विघटन फिर्ता गर्नुपर्ने आवश्यकता औंल्याए। ओलीले भने, “मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।” उनले असंवैधानिक निर्णयलाई समर्थन गरेर अघि बढे देश र संविधान दुबै अफ्ठेरोमा पर्ने चेतावनी दिए।
अध्यक्ष ओलीले हालको सरकार ‘बलमिच्याइँ’ले बनेको टिप्पणी गर्दै भने, “अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन–जीले आगो बाल्छन्। लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो।”
उनले सुशीला कार्की नेतृत्वको सरकार संविधानअनुसार नबनेको आरोप लगाए। ओलीका अनुसार प्रधानमन्त्री बन्नका लागि कार्कीले संविधानभन्दा बाहिर गएर काम गरेकी हुन्। उनले भने, “कार्की २३ र २४ गते जेन–जी बनेर सडकमा उत्रिएकी थिइन्, अनि आज प्रधानमन्त्री बनेकी छन्।”
राष्ट्रपतिले फागुन २१ गतेका लागि चुनाव तोके पनि सरकारले त्यसलाई बेवास्ता गरेको ओलीको भनाइ छ। उनले वर्तमान सरकार ‘नेपाली जनताको नभई अरूको हितमा काम गरिरहेको’ आरोप लगाउँदै भने, “यो सरकार नेपालीको होइन, अरू कसको हो भन्ने थाहा छैन। उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ।”
ओलीले हालै सरकारका कदमहरू आफ्नो विरोधमा केन्द्रित रहेको टिप्पणी गर्दै थपे, “कहिले राति ३ बजेसम्म बैठक गरेर ओलीलाई पक्राउ गर्ने योजना, कहिले पासपोर्ट रोक्ने, कहिले उपत्यका बाहिर जान नदिने यस्ता तमासाले डराउने मान्छे होइन केपी ओली।”
गृहमन्त्रीप्रति पनि कटाक्ष गर्दै उनले भने, “गृहमन्त्रीको नाम त मैले भएपछि मात्र सुनेको हुँ। गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन्छु। राजनीति र देश चलाउने कुरा ख्याल–ठट्टा होइन, बुझेर चल्न सुझाव दिन्छु।” कार्यक्रममा ओलीले संविधान, लोकतन्त्र र राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै देशलाई स्थायित्व र विकासको बाटोमा फर्काउन सबैलाई आह्वान गरे।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A